मर्जर प्रक्रियामा सामेल कम्पनीको पनि शेयर कारोबार गर्न सकिने !

0
Shares

नेपाल धितोपत्र बोर्डले मर्ज तथा एक्विजिसनमा जाने संस्थाको दोस्रो बजारमा शेयर कारोबारलाई थप व्यवस्थित र सरलीकरण गर्ने भएको छ । जसका लागि धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७७ को जारी गर्ने तयारी गरेको छ ।

बोर्डले सोसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारि सरोकारवालाहरुको रायसुझाव समेत माग गरेको छ ।

प्रस्तावित मस्यौदामा मर्ज तथा एक्विजिसनमा जाने निर्णय गरेका संस्थाको शेयर कारोबार रोक्का गर्ने र ती संस्थाहरुको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्तावित पारित भएपछि भने शेयर कारोबार पुनः खुला गर्न सकिने व्यवस्था गरिएको छ । 

संगठित संस्थाले शेयर आदान प्रदान अनुपात सहित गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा साधारण सभाबाट पारित गर्नु पर्नेछ । संगठित संस्थाले साधारण सभाबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्णय भएको अर्को कार्य दिनमा धितोपत्र बजारसमक्ष शेयर कारोवार खुला गर्न निवेदन दिनुपर्नेछ ।

संगठित संस्थाको गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया सम्पन्न भई एकीकृत व्यवसायिक कारोबार शुरु नभएसम्म गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयरको छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । संगठित संस्थाको शेयर कारोवार खुला गर्दा गाभ्ने संगठित संस्थाको शेयर कारोबार रोक्का हुदाँ कायम भएको पछिल्लो कारोबार मूल्यको आधारमा कारोबार हुने व्यवस्था गर्नुपर्नेछ ।

एकीकृत व्यवसायिक कारोवार भएको सात कार्य दिनभित्र एकीकृत शेयर कारोबार खुला गर्नुपर्ने व्यवस्था मस्यौदामा छ । बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी कानूनबमोजिम एकीकृत व्यवसायिक कारोवारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोवार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्नेछ ।

संगठित संस्थालाई गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन पूर्वस्वीकृति दिदाँ शेयर आदान प्रदान अनुपात (शेयर स्वाप रेसियो) गणना विधिबारे जानकारी गराउनुपर्नेछ । बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिसम्बन्धी पूर्व स्वीकृति प्राप्त गरेपश्चात् शेयर आदान प्रदान अनुपात गणना गर्नुपर्नेछ।

बोर्डबाट शेयर आदान प्रदान अनुपात स्वीकृत भएपश्चात् संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्झौता गर्नु पर्ने व्यवस्था समेत छ ।

सूचीकृत संगठित संस्था सूचीकरण नभएको संगठित संस्थासँग गाभिने वा प्राप्ति हुने सम्बन्धी व्यवस्थाः कुनै सूचीकृत संगठित संस्था सूचीकरण नभएको संगठित संस्थासँग गाभिने वा प्राप्ति हुने भएमा उक्त सूचीकृत संगठित संस्थाले निर्देशिका बमोजिमको प्रक्रिया पूरा गर्नुपर्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।