इप्पानमा निर्विरोध चयन गरियो कार्यसमिति, यस्ता छन् नयाँ अनुहार


प्रोक्सी विवादको विषयलाई लिएर तोकिएको मितिमा साधारण सभा हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) मा निर्विरोध कार्यसमिति चयन गरिएको छ । साउन २१ गते आइतबारको सर्वसम्मत समितिले गरेको सिफारिस अनुसार नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

इप्पान सचिवालयका अनुसार यस अघिका सल्लाहकार कृष्णप्रसाद आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अब एशोसिएटतर्फबाट थप एक जना सदस्य मनोनयन हुन बाँकी छ ।

इप्पानका नयाँ अध्यक्ष कृष्णप्रसाद आचार्य विन्दवासिनी हाइड्रो तथा पिपुल्स हाइड्रोको प्रतिनिधित्व गर्छन् । यसअघि उनी इप्पानको सल्लाहकार थिए ।

इप्पान सचिवालयका अनुसार यसअघि इप्पानको महासचिव रहेका आशिष गर्ग उपाध्यक्ष बनेका छन् । उनी सोलु करिडोरमा निर्माणाधीन भारतीय लगानीको एक जलविद्युत आयोजनाका प्रमुख कार्यकारी हुन् ।

यस अघिका सदस्य गणेश कार्की उपाध्यक्षमा निर्विरोध भएका छन् । उनी सिंगटी हाइड्रोलाई प्रतिनिधित्व गर्छन् । तेह्रथुम पावरका तर्फबाट इप्पान उपाध्यक्ष बनेका मोहन कुमार डाँगी भने नयाँ अनुहार हुन् ।

यती ग्रुपका तर्फबाट महासचिव बनेका गोरे शेर्पा पनि नयाँ अनुहार हुन् । सर्वसम्मत समितिले महासचिवमा सिफारिस गरेका भरतबहादुर खत्री भने अन्तिम समयमा विवादका बीच सचिव बनेका छन् । पिपुल्स हाइड्रोलाई प्रतिनिधित्व गर्ने खत्री पनि नयाँ अनुहार हुन् ।

लिवर्टी इनर्जी प्रतिनिधित्व गर्ने रामप्रसाद आचार्य पनि नयाँ अनुहारका रुपमा इप्पान सचिव बनेका छन् । बुद्धभूमि  हाइड्रोलाई प्रतिनिधित्व गर्ने बलराम खतिवडा पनि नयाँ अनुहारका रुपमा इप्पानको सचिव बनेका छन् । आनन्द चौधरी यसअघि कोषध्यक्ष रहेकोमा उनलाई सोही पदमा दोहोर्याउने विषयमा सर्वसम्मत निर्णय गरिएको छ ।

सदस्यहरुमा म्याग्दीमा समस्याग्रस्त बनेको थापाखोला जलविद्युतका भरतकुमार खड्का, आरती पावरका प्रकाश दुलाल, एनएमबि बैंकका सञ्चालक एवं सीईडीबी हाइड्रो फण्डका उत्तम ब्लोन लामा र सर्वसाधारणमा शेयर निष्काशन गरेर समस्यामा परेको खानीखोला जलविद्युतका भरत लामिछाने थापा छन् । यो सूचीमा थापा खोला प्रतिनिधित्व गर्ने भरतकुमार खड्का दोहोरिएका हुन् भने ३ जना नयाँ अनुहार हुन् ।

महिला सदस्यतर्फ हिमशिला पावर कम्पनीकी कविता पोख्रेल कँडेल र युनियन हाइड्रोकी अभिज्ञा मल्ल नयाँ अनुहारका रुपमा निर्विरोध भएका छन् ।

नोटबजारलाई प्राप्त जानकारी अनुसार नयाँ कार्यसमितिले एशोसिएटतर्फबाट एक जनालाई मनोनयन समेत गरिसकेको छ । स्रोतका अनुसार इसुवा पावर कम्पनीका अध्यक्ष बिक्रम बिष्टलाई मनोनीत सदस्य नियुक्त गर्ने निर्णय भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।