नेपाल विद्युत प्राधिकरणले कमायो ११ अर्ब नाफा, सञ्चित नोक्सानी सकियो

0
Shares

नेपाल विद्युत प्राधिकरणले आव २०७६/७७ मा करिब ११ अर्ब रुपैयाँ खुद नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेर गौरवपूर्ण इतिहास बनाउन पनि सफल भएको छ।

दैनिक १४ घण्टासम्मको लोडसेडिङ्ग हुने बेला आर्थिक वर्ष (आव) २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफा गर्दै आएको छ। आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरणले आव २०७६/७७ मा करिब ५ अर्ब सञ्चित नाफा कमाएको छ।

यसैगरी प्रधिकरणले विद्युत् चुहावटलाई पनि उल्लेख्य रुपमा घटाएको छ। आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आव २०७६/७७ मा १५.२७ प्रतिशतमा झारेको छ ।

कुनैबेला कुल विद्युत् खपतको करिब ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाल विद्युत प्राधिकरणले ३५ औं वर्ष पूरा गर्दा गत वर्ष २२ प्रतिशतमा आयात सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा सीमित हुने प्रधिकरणको अनुमान रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७२/७३ मा २९ लाख ६९ हजार ५७५ ग्राहक संख्या रहेकोमा चार वर्ष अवधि (आव २०७६/७७) मा कुल ग्राहक संख्या ४२ लाख पुगेको छ । ग्रीडको विद्युत् पहुँच पुगेको जनताको संख्या ४ वर्षअघि करिब ६३ प्रतिशत रहेकोमा ४ वर्षभित्र करिब २३ प्रतिशतले वृद्धि भई करिब ८६ प्रतिशत पुगेको छ ।

विसं २०७२/७३ मा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयता विद्युत् खपत निरन्तर बढेर आव २०७६/७७ मा २६० युनिट पुगेको छ । आर्थिक वर्ष २०७२/७३ सम्ममा ६६ केभी र सोभन्दा माथिका प्रसारण लाइन लम्बाइ २ हजार ९११ सर्किट किलोमिटर रहेकोमा आव २०७६/७७ सम्ममा करिब ४ हजार २७५ सर्किट किलोमिटर पुगेको छ । यो करिब ४७ प्रतिशतले बढी हो। ग्रीड सबस्टेसनहरूको क्षमता करिब २ हजार २२३ एमभिए थियो, अहिले यो क्षमता ४ हजार १६१ एमभिए पुगेको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा ३१ लाख ५० हजार युनिट निर्यात गरेकोमा आव २०७६/७७ मा १० करोड ७० लाख युनिट विद्युत् निर्यात गरेको छ । केही वर्षभित्रमै विद्युत्मा आत्मनिर्भर भई नेट निर्यात सुरु गरिने प्रधिकरण्मले जनाएको छ।

आर्थिक वर्ष २०७२/७३ सम्ममा नेपाल–भारतबीच करिब ३५० मेगावाट विद्युत् प्रवाह हुन सक्ने अन्तरदेशीय प्रसारण संरचना रहेकोमा अहिले प्रसारण क्षमता वृद्धि भई हाल १ हजार ५०० मेगावाट पुगेको छ । बुटवल–गोरखपुर, मैनहिया–सम्पत्तिया, इनरुवा–पूर्णिया, लम्की-बरेली, कोहलपुर-उत्तरप्रदेश निर्माणको विभिन्न चरणमा छन्। नेपाल र चीनबीच पनि रातोमाटे-रसुवागडी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि प्राधिकरण र स्टेट ग्रीड चाईनाबीच समझदारी पत्रमा हस्ताक्षर भई नेपालतिरको लाइनको सम्भाव्यता अध्ययन पूरा भएको प्राधिकरणको भनाई छ ।

आर्थिक वर्ष २०७२/७३ मा करिब २६ हजार वितरण ट्रान्सफर्मर प्रणालीमा जडान भई कुल क्षमता करिब २ हजार ६०० एमभिए रहेकोमा हाल साढे ३५ हजारबाट जडित क्षमता ३ हजार ५०० एमभिए पुगेको छ । काठमाडौं लगायतका सहरी क्षेत्रका वितरण लाइनहरू बढ्दो विद्युत् माग व्यवस्थापन, आपूर्तिमा विश्वसनीयता तथा गुणस्तर कायम गर्न काठमाडौं उपत्यकामा विद्युतीय तारलाई भूमिगत बिछ्याउन सुरु गरिएको छ ।

औद्योगिक तथा व्यापारिक ग्राहकका लागि स्मार्ट थ्री फेज मिटर जडान भइसकेको छ भने घरायसी ग्राहकका लागि स्मार्ट मिटर जडान सुरु गरिएको छ। आर्थिक २०७२/७३ सम्म नेपालमा कुल ८०१.७ मेगावाट जलविद्युत् उत्पादन भइरहेकोमा यस अवधिमा जलविद्युत् उत्पादन ५७ प्रतिशतले वृद्धि भई कुल १२५८.७ मेगावाट पुगेको छ ।

आगामी दिनमा विद्युत्को आन्तरिक, अन्तरदेशीय र उपक्षेत्रीय बजार विस्तार गर्दै देशभित्र उत्पादित विद्युत् खेर नजाने गरी बिक्री गर्ने व्यवस्था मिलाउने तथा सेवामा प्रभावकरिता ल्याउन, प्रणालीलाई स्वचालित रूपमा सञ्चालन गरी भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति दिन तथा प्रविधिको प्रयोग गरी जनशक्तिको बढ्दो आवश्यकतालाई कम गर्दै लैजान प्रणालीलाई अटोमेसन र संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकता दिने जनाएको छ ।

प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्न-आम्दानी बढाउने, चुहावट घटाउने-खपत बढाउने, उत्पादन बढाउने-महसुल घटाउने, आयात घटाउने-निर्यात बढाउने योजना बनाएको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागु गरिने प्रधिकरणको तयारी छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।