बैंकहरुमा कर्जाको माग आउन थाल्यो, दुई सातामा १२ अर्ब कर्जा प्रवाह

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ ।

 कोरोना कहरकै बीचमा पनि आर्थिक गतिविधि बढ्न थालेपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको अवस्था छ ।

यो अवस्थामा नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाबाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

साउनको महिनाको पछिल्लो दुई सातमा बैंकहरुले १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साउनको तेस्रो सातामा ५ अर्ब कर्जा प्रवाह गरेका बैंकले चौथो सातामा ७ अर्ब कर्जा प्रवाह गरेका हुन् ।

साउनको पहिलो सातामा २५ अर्ब निक्षेप र ३६ अर्ब कर्जा घटेकोमा दोस्रो सातामा बैंकिङ प्रणालीमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । तर, तेस्रो सातामा भने ११ अर्ब निक्षेप झिकिँदा ५ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको थियो । साउनको चौथो सातामा बैंकिङ क्षेत्रमा देखिएको कर्जा पछिल्लो ४ महिनाको उच्च हो।

बैंकहरुले निक्षेपको ब्यादर घटाएका कारण वाणिज्य बैंकहरुको निक्षेप अन्यत्र गइरहेको आँकलन गरिएकाले बेला निक्षेपसमेत थपिन थालेको छ । साउनको चौथो साता वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप थपिएको छ ।

साउन महिनाको चौथो साता अर्थात साउन ३० गतेसम्ममा वाणिज्य बैंकहरुमा कुल ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप छ भने सोही अवधिमा बैंकहरुले कुल २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

चालू आर्थिक वर्ष सुरु भएयता बैंकहरुबाट ८ अर्ब निक्षेप घटेको छ । गत असार ३१ गतेसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षप थियो। त्यस्तै चालू आव सुरु भएयता २५ अर्ब कर्जा घटेको छ । असार ३१ गतेसम्म बैंकहरुको कुल कर्जा २९ खर्ब ३ अर्ब थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।