गोली नै हान्ने किसिमको निषेधाज्ञा जारी गरिएको होइन – मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब खड्कासँग अन्तरवार्ता


पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्दै गएको छ । यो अवस्थामा देशका धेरै स्थानीय निकाय तथा जिल्ला प्रशासनले संक्रमणको जोखिमलाई ध्यानमा राखेर विभिन्न किसिमका कृयाकलापमा प्रतिबन्ध लगाउँदै आएका छन् । १ नम्बर प्रदेशको राजधानी बिराटनगरमा पनि पछिल्ला दिनमा संक्रमितको संख्या बढेसँगै अत्यावश्यकीय काम बाहेक सर्वसाधारणको आवागमनमा प्रतिबन्ध लगाइएको छ । पूर्वी नेपालको प्रशासनिक, औद्योगिक एवं व्यापारिक केन्द्रमा बढिरहेको कोरोना संक्रमण र त्यसको व्यवस्थापनका सम्बन्धमा नोटबजारले मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्कालाई सोधेको छ,

मोरङ जिल्लामा पछिल्ला दिनमा बढेको संक्रमण पछि सर्वसाधारणको चहलपहललाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

हामीले नेपाल सरकारले निर्धारण गरेका सबै मापदण्ड कडाईका साथ लागू गर्ने रणनीति अबलम्बन गरेका छौं । सो अनुसार काम पनि भईरहेको छ । सर्वसाधारणको हकमा भन्नु पर्दा अनुसासित भएर प्रशासनले जारी गरेका निर्देशनहरु पालना गरिरहनु भएको छ । जरुरी परेर निस्क्निु पर्नेहरुले पनि प्रशासनसँगको समन्वयमा स्वास्थ्य मापदण्ड पुरा गरेर अत्यावश्यक काममा मात्र निस्किनु भएको छ । आजका दिनसम्म आम सर्वसाधारणले संक्रमण नियन्त्रणमा सघाउनु भएको महसुस हामीले गरेका छौं ।

विगतमा राजधानी तथा अन्य जिल्लामा जानका लागि सवारी पास भईरहेको अवस्था थियो । अहिले के गरिरहनु भएको छ ?

भीडभाड नगर्ने नगराउने भन्ने सन्दर्भमा तोकिएको मापदण्ड अनुसार स्थानीयस्तरमा अत्यावश्यकीय सेवाका सवारी साधनका मात्र सञ्चालन गर्न दिएका छौं । लामो दूरीका सवारी साधनको हकमा अहिले सबै किसिमका पास बितरण गर्ने काम बन्द भएको छ । यस अघि कोभिड परीक्षण गरेर संक्रमण नभएको पुष्टि भएकाहरुलाई कामको प्रथमिकताका आधारमा पास बितरण गरिएको थियो । तर अहिले त अवस्था यस्तो आयो कि केही छिन पहिलेसम्म संक्रमण नभएको व्यक्ति क्षणभरमा संक्रमित हुन सक्ने अवस्था आयो । यो अवस्थामा गृह मन्त्रालयले जारी गरेको निर्देशन अनुसार अत्यावश्यक त्यसमा पनि स्वास्थपोचारको मात्र लागि अनुमति दिएका छौं । नत्र सबै किसिमका पास बितरण बन्द गरिएको छ । दैनिक रुपमा परिस्थिती बदलिइरहेको अवस्थामा तत्काल कुनै नयाँ निर्णय पनि गर्ने अवस्था छैन ।

मोरङमा संक्रमणको अवस्था कस्तो देखिएको छ ?

आइतबारसम्ममा नै मोरङमा मात्र १० जनाको कोरोना संक्रमणका कारण निधन भईसकेको अवस्था छ । संक्रमितको संख्याको कुरा गर्दा निको हुन बाँकी संक्रमितहरुको संख्या नै चार सयको हाराहारीमा छ । दैनिक रुपमा संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहेको छ । संक्रमणदर बढेसँगै हामीले परीक्षणको दर पनि बढाएका छौं । परीक्षण बढाएका कारण नै संक्रमितको संख्या पनि बढेको हो । यो आधारमा भन्नु पर्दा परीक्षण हुन नसकेका संक्रमितको संख्या धेरै हुन सक्ने देखिन्छ । किनभने जति परीक्षणको दायरा बढाएका छौं, त्यति धेरै संक्रमितको संख्या बढ्नु भनेको संक्रमितको संख्या धेरै हुनु नै हो । भोलिका दिनमा यो संख्या अझै बढ्ने अवस्था हुन्छ ।

संक्रमण बढ्दै गर्दा निषेधाज्ञा जारी गर्नु पर्ने अवस्थामा तपाईहरु पुग्नु भयो कि छैन ?

संक्रमण धेरै देखिएका निश्चित क्षेत्रहरुलाई शील गर्ने कामलाई हामीले प्राथमिकतामा राखेका छौं । त्यस्ता क्षेत्रहरु डिस्इन्फेक्ट हुन लाग्ने समयसम्म पूर्ण रुपमा शील गर्दै क्रमिक रुपमा खुल्ला गर्दै गईरहेका छौं । कार्यालय तथा सेवा लिने र दिने क्षेत्रहरुमा भीडभाड नियन्त्रण र संक्रमण देखिएको ठाउँमा शील गरेर केही समय पछि खुलाउँदै लैजाने किसिमको काम भईरहेको छ ।

स्थानीय निकायले भने आफ्नो क्षेत्रको अवस्था अनुसार निश्चित क्षेत्र, वडा तथा पुरै स्थानीय तहमा लकडाउनको घोषणा गर्नु भएको छ । हामीले त्यसको कार्यान्वायनमा हामीले सहयोग गर्दै आईरहेका छौं ।

तपाईले भनेको जस्तो सुरक्षाकर्मी नै परिचालन गरेर निषेधाज्ञा गर्नु पर्ने अवस्था हामीकहाँ आएको छैन । तर भीडभाडका बिचमा हुने कुनै पनि किसिमका सेवा प्रवाह तथा काम कार्वाहीको हकमा निषेध गरिएको अवस्था हो । यसलाई निषेधाज्ञा भन्ने शब्दले कफ्र्यू भन्ने हो, सुरक्षाकर्मीले यो अवस्थामा गोली हान्न सक्छन् । यो किसिमको निषेधाज्ञा जारी भएको छैन ।

मोरङको कुन् कुन् क्षेत्रमा धेरै संक्रमण देखिएको छ ?

सबैभन्दा धेरै संक्रमण बिराटनगर पालिकामा नै देखिएको छ । महानगरका वडा नम्बर ५ र ९ मा धेरै संक्रमित देखिएका छन् । त्यस पछि रंगेलीमा धेरै संक्रमण देखिएको छ । त्यस पछि बूढीगंगाको १ र २ नम्बर वडामा धेरै संक्रमण देखिएको छ । हामीले पनि ती स्थानीय निकायसँग समन्वय गरेर संक्रमण नियन्त्रणमा उपयुक्त निर्णय गर्दै आईरहेका छौं ।

मोरङमा सञ्चालनमा रहेको ठूलो संख्याका उद्योग सञ्चालनको अवस्था के छ ?

भीडभाड नहुने गरी कतिपय सेवाहरु प्रवाह भईरहेको सन्दर्भमा स्वास्थ्यका प्राटोकलहरु पालना हुने गरी उद्योग सञ्चालन भईरहेको अवस्था छ । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा उत्पादित सामग्रीलाई गन्तव्यमा पुर्याउने सन्दर्भमा स्थानीय तहसँगको समन्वयमा हामीले पनि सहजीकरण गर्दै आएका छौं ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।