काठमाण्डौंका प्रजिअ र ट्राफिक प्रहरी प्रमुखको चेतावनी – सडकमा आउने कोही पनि कार्वाहीमा पर्न सक्छ


ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले प्रशासनले जारी गरेको प्रतिबन्धात्मक आदेशको पूर्ण पालनामा ट्राफिक प्रहरीले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नोटबजारसँगको कुराकानीमा ट्राफिक प्रमुख एसएसपी ढकालले शेयर बजारसम्बद्ध संस्थाहरुका कर्मचारीलाई पनि बाहिर निस्किने सम्बन्धमा कुनै परिपत्र नभएको भन्दै सडकमा भेटिए कार्वाहीमा पर्ने बताएका हुन् ।

नोटबजारसँग कुरा गर्दै ढकालले भने, ‘जिल्ला प्रशासनले तोकेको मापदण्ड भित्र परेका सवारी साधनको सञ्चालन निर्वाध हुन्छ । अरु कुनै पनि किसिमको पास वा परिचय पत्रले सडकमा काम गर्दैन । यसै आधारमा भन्नु पर्दा संक्रमणको जोखिम न्यूनीकरणका लागि नै ट्राफिक प्रहरीले उपत्यकाको सडक पूर्ण रुपमा खाली बनाउँछ । अत्यावश्यक काम पुष्टि हुने अवस्था नभई घरबाट बाहिर ननिस्किन सबैलाई आग्रह गर्छु ।’

‘बैंक वित्तीय संस्थाको हकमा पनि अनलाइन प्रणालीबाट कारोबार गर्नु पर्ने भन्ने प्रष्ट व्यवस्था छ । यो अवस्थामा बैंकका कर्मचारीको आवागमन पनि ट्राफिक प्रहरीको कार्वाहीको दायरामा पर्छ ।’ ढकालले भने ।

मौखिक रुपमा आउने कुनै पनि किसिमको आग्रहलाई ट्राफिक प्रहरीले कार्वान्वायन नगर्ने बताएका ढकालले प्रशासनको निर्देशन जनताको हीतमा भएकाले पालना गर्न आग्रह गरे ।

बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्किनेहरु पनि कार्वाहीको दायरामा पर्ने भएका छन् । केही बेर घरबाट बाहिर निस्किएर फर्किन्छु भन्ने सोचका साथ बाहिर निस्कँदै हुनुहुन्छ भने पनि तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ ।

बुधबार रातीदेखि लागु हुने प्रतिबन्धको आदेशानुसार प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा कडाई गर्ने भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आम नागरिकलाई अपील गर्दै भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ ।’

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा १०० रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरण समेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले बन्दाबन्दी भन्दा आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शैयाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

उपत्यकाका तीनै जिल्लाका पमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ । राति १२ः०० बजेदेखि अत्यावश्यकबाहेकका गतिविधि गर्न पाइने छैन । उक्त आदेश भदौ १० गतेसम्म लागू हुनेछ ।

उक्त अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन ।

कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून संख्यामा हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौँका प्रजिअ दाहालले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने । मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।