अब शेयर कारोबारको लेनदेन अनलाइनबाट मात्र हुने, चेक नलिने र नदिने निर्णय


कोरोना भाईरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै शेयर ब्रोकरहरुले लगानीकर्ताबाट विद्युतीय माध्यमबाट मात्र रकम लिने भएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले विद्युतीय माध्यमबाट रकम आदनप्रदान गर्दै बजारलाई अनलाइनमैत्री बनाउन निर्देशन दिएको थियो ।

बोर्डको उक्त निर्देशन पछि शेयर ब्रोकरहरुले कनेक्ट आईपीएसका साथै अन्य वित्तुतीय भुक्तानी सेवाप्रदायकहरुमा आबद्ध हुन लगानीकर्तालाई अपील गरेका छन् ।

नेपाल स्टक ब्रोकर एशोसिएसनले अहिले पनि चेकबाट ठुलो संख्यामा कारोबारको लेनदेन भईरहेको भन्दै अब उप्रान्त विद्युतीय माध्यमबाट मात्र लेनदेन गरिदिनका लागि लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

विशेष गरी ठूलो रकमका कारोबार गर्ने लगानीकर्ताहरुबाट अहिले पनि ब्रोकरहरुलाई चेकबाट भुक्तानी आउने गरेको छ । ठुलो रकमको शेयर कारोबार गर्ने लगानीकर्ताहरुबाट चेकमा रकम लिन नसक्ने प्रष्ट पार्दै एशोसिएसनले सबै किसिमका लगानीकर्ताको कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने जनाएको हो ।

लगानीकर्ताले शेयर बिक्री गरेको रकम खातामा पठाइदिँदा कतिपय लगानीकर्ताको बैंक खाताको विबरण नमिलेर फिर्ता हुने गरेको भन्दै एशोसिएसनले बैंक खाताको विवरण अध्यावधिक गरी अनलाइनबाटै रकम लिन सक्ने व्यवस्था मिलाई दिन पनि आग्रह गरेको छ ।

‘शेयर विक्रि गर्ने लगानीकर्ताले आईपीएस प्रणालीबाट समयमै भुक्तानी लिन आफुले धितोपत्र विक्रि गर्नु पूर्व आफुले कारोबार गर्ने धितोपत्र दलाल ब्यवसायीलाई आफुले रकम लिन चाहेको बैंक खाताको विवरण (बैंकको नाम, शाखाको ठेगाना, खाता नम्बर) गल्ती नहुने गरी इमेल, भाईबर जस्ता विद्युतीय माध्यमबाट अद्यावधिक गराईदिनु हुन आग्रह गर्दछौ’ एशोसिएसनले भनेको छ ।

धितोपत्र दलाल ब्ययवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानीहरु विधुत्तिय माध्यमबाट मात्र गर्न गराउन पनि एशोसिएसनले आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।