मेरो शेयर नचल्दा ‘इडिआईएस’ तथा आइपीओ आवेदन अवरुद्ध, बोर्ड भन्छ – क्लोज आउटमा पर्न दिँदैनौं


केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयर सफ्ट्वेयर चलाउन नसकिने गरी डाउन भएको छ । दोस्रो बजारबाट हुने कारोबारलाई अनलाइनबाट मात्र पुर्णता दिने अभियान चलिरहेका बेला मेरो शेयर नचले पछि इडिआईएसबाट शेयर राफसाफको अनुमति दिन लगानीकर्ता असमर्थ भएका छन् । अर्कातिर विभिन्न कम्पनीले निष्काशन गरिरहेको साधारण शेयरमा आवेदन गर्न चाहनेहरु पनि आवेदन गर्नबाट बञ्चित भएका छन् ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्काशन गर्न कम्पनीहरुलाई एउटै समयमा स्वीकृति दिए पछि तीन कम्पनीले एकै पटक साधारण शेयर निष्काशन गरिरहेका छन् । जसका कारण धेरै लगानीकर्ताहरुले एकै पटक मेरो शेयरमा पहुँच स्थापीत गर्न खोज्दा वेब पोर्टल डाउन भएको हो ।

व्याण्डविथ अपुग हुनुका साथै सर्भरले वेब पोर्टलको चाप धान्न नसक्दा समस्या आएको हो । व्याण्डविथ थप्ने काम गरिएको बताइए पनि अझै समस्या समाधान हुन सकिरहेको छैन ।

मेरो शेयरमा समस्या आए पछि कारोबार राफसफा समयमा गर्न नसकिएको शेयर ब्रोकर तथा निक्षेप सदस्यहरुले बताउँदै आएका छन् । लगानीकर्ताबाट धेरै गुनासो आएका कारण उनीहरुलाई बुझाउँदा नै सिमित संख्यामा आएका कर्मचारीले अरु काम गर्न नपाएको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए ।

‘सिडिएससीले आफ्नो प्रणाली सुधार गर्नु पर्ने हो कि, धितोपत्र बोर्डले शेयर निष्काशनको तालिका व्यवस्थापन गर्नु पर्ने हो कि गर्नु पर्यो । तर लगानीकर्ता र हामीले अनावश्यक तनाव लिनु पर्ने अवस्थाले दिकदार बनायो’ उनले भने ।

यस सम्बन्धमा धितोपत्र बोर्डले लगानीकर्ता तथा साधारण शेयर निष्काशन गरिरहेका कम्पनीहरुको सहजता अनुसार विकल्प दिने जनाएको छ । बोर्डका प्रवक्ता निर गिरीले सिडिएससीले मेरो शेयरमा आएको समस्या र त्यसबाट लगानीकर्ता तथा आईपीओ निष्काशनमा परेको नकरात्मक असरको विस्तृत विबरण बुझाए पछि सोही अनुसार निर्णय गरिने बताए ।

‘अहिले नै लगानीकर्ता क्लोज आउटमा परे कि परेनन् ? आईपीओ निष्काशनमा कति प्रभाव पर्यो भन्ने यकिन भईसकेको छैन । सबै विषय प्रष्ट भए पछि बोर्डले आवश्यक निर्णय गर्छ, मेरो शेयरमा आएको समस्याकै कारण कोही पनि क्लोज आउटमा पर्ने अवस्था आउँदैन’ गिरीले भने ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।