गत आर्थिक वर्षमा ५० लघुवित्तले कमाए साढे ४ अर्ब खुद नाफा, १२ सूचांकका आधारमा कुन अब्बल ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

लघुवित्त कम्पनीहरुको यो नाफा अघिल्लो आवको तुलनामा २२.७० प्रतिशत कम हो।

अघिल्लो आवमा ५३ लघुवित्त कम्पनीहरुले ५ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। सरकारले गरेको ४ महिने लकडाउनका कारण कर्जा असुली प्रभावित हुँदा लघुवित्त कम्पनीहरुको नाफामा संकुचन आएको हो।

गत आवमा लघुवित्तहरुले ८६ अर्ब ४० करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसबाट १६ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ। यस अवधिमा निक्षेप १९.६१, कर्जा लगानी ८.८९ र खुद ब्याज आम्दानी १४.८७ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा लघुवित्तहरुले ७२ अर्ब २३ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। यसबाट १३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए।

लघुवित्तहरुको अघिल्लो आवमा कूल चुक्ता पूँजी १५ अर्ब ४१ करोड १८ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २६.३४ प्रतिशतले वृद्धि भई १९ अर्ब ४७ करोड १२ लाख रुपैयाँ पुगेको छ। यस्तै १४ अर्ब ४ करोड १० लाख रुपैयाँ रहेको जगेडा कोष १३.३५ प्रतिशतले वृद्धि भई १५ अर्ब ९१ करोड ५१ लाख रुपैयाँको पुगेको छ।

गत आवमा लघुवित्त कम्पनीको औषत प्रतिशेयर आम्दानी १९.८९ रुपैयाँ रहेको छ। खुद नाफा घटेसँगै अघिल्लो आवको तुलनामा ११.९६ रुपैयाँले प्रतिशेयर आम्दानीम संकुचन देखिएको छ। उता औषत शेयरमूल्य भने अघिल्लो आवमा ८१२ रहेकोमा गत आवमा १३ रुपैयाँले बढेर ८२५ रुपैयाँ पुगेको छ । यस्तै मूल्य आम्दानी अनुपात भने घटेको छ। अघिल्लो आवमा औसत पीई रेसियो ५८.२७ रहेकोमा ५.८५ ले घटेर ५२.४२ गुणामा छ।

खुद नाफा घटेसँगै लघुवित्तको लगानीमा प्रतिफल पनि घटेको छ। अघिल्लो आवमा औषत प्रति १ कित्ता शेयरले १७.७२ रुपैयाँ आम्दानी गरेकोमा गत आवमा ११.८७ रुपैयाँमा झरेको हो।

उता खराब कर्जा अनुपात २.३२ प्रतिशत छ। अघिल्लो आवमा १.०९ प्रतिशत थियो। समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुको प्रतिशेयर नेटवर्थ पनि ७.७० रुपैयाँले घटेर १६१.१४ रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा गत आवमा छिमेक लघुवित्त र निर्धन उत्थान लघुवित्तको सबैभन्दा धेरै १ अर्ब ५० करोड चुक्ता पूँजी रहेको छ भने सबैभन्दा कम घोडीघोडा लघुवित्तको २ करोड ७६ लाख रहेको छ।

खुद नाफा

गत आवमा खुद नाफाको आधारमा पनि छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा गर्दा साना किसान लघुवित्तले ५४ करोड ८२ लाख, र स्वावलम्बन लघुवित्तले ३५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

महिला सहयात्रा लघुवित्तको खुद नाफा भने १ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिशेयर आम्दानी

प्रतिशेयर आम्दानीका आधारमा साना किसान लघुवित्तको सबैभन्दा धेरै ५४.८० रुपैयाँ छ भने महिला सहयात्रा लघुवित्तको ८.६३ रुपैयाँले ऋणात्मक रहेको छ। फरवार्ड, स्वावलम्बन, र छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ४० रुपैयाँभन्दा धेरै छ।

लगानीमा प्रतिफल (आरओई)

लघुवित्त कम्पनीहरुको लगानीमध्ये स्पर्स लघुवित्त लगानीमा प्रतिफलका आधारमा अगाडि छ। यस लघुवित्तको एक कित्ता शेयरले २२.०८ रुपैयाँ कमाएको छ भने स्वाभिमान र छिमेक लघुवित्तको २० रुपैयाँभन्दा धेरै छ।

महिला सहयात्राको ८.६४ रुपैयाँले ऋणात्मक रहेको छ।

शेयरमूल्य

यस अवधिमा नेशनल माइक्रोफाइनान्सको सबैभन्दा धेरै प्रतिकित्ता शेयरमूल्य १ हजार ५२४ रुपैयाँ रहेको छ भने फरर्वाड कम्युनिटी, जनउत्थान सामुदायिक, साना किसान, स्वावलम्बन, ग्लोबल आइएमई, लक्ष्मी लघुवित्त, र छिमेक लघुवित्तको शेयरमूल्य १ हजार माथि रहेको छ।

ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा कम ४६४ रुपैयाँ रहेको छ। आँधिखोला लघुवित्त, र आरएसडिसी लघुवित्तको शेयरमूल्य ५०० रुपैयाँभन्दा कम छ।

जगेडा कोष

गत आवमा साना किसान विकास लघुवित्तको सबैभन्दा धेरै १ अर्ब ९७ करोड ४१ लाख रुपैयाँ बराबरको जगेडा कोष रहेको रहेको छ। घोडीघोडा लघुवित्तको सबैभन्दा कम ५ लाख ४ हजार रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिशेयर नेटवर्थ

गत आवको वित्तीय विवरण अनुसार साना किसान लघुवित्तको सबैभन्दा धेरै २९७.३७ रुपैयाँ प्रतिशेयर नेटवर्थ छ। आरएमडिसी, फरवार्ड, स्वाबलम्बन, महुली, निर्धन उत्थान, र छिमेक लघुवित्तको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँभन्दा माथि रहेको छ।

घोडीघोडा लघुवित्तको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम ९८ रुपैयाँ मात्र रहेको छ। कम्पनीको जगेडा कोष ऋणात्मक रहेकाले प्रतिशेयर नेटवर्थ घटेको हो।

मूल्य आम्दानी अनुपात

मूल्य आम्दानी अनुपातका आधारमा नेपाल सेवा लघुवित्तको शेयरमूल्य महङ्गो देखिन्छ।संस्थाको दोस्रो बजारको शेयरमूल्य र प्रतिफलका आधारमा महङ्गो देखिएको हो।गत आवमा कम्पनीके मूल्य आम्दानी अनुपात २१६.६७ गुणा महङ्गो रहेको छ भने गुँरास, नाडेप, वोमी र घोडीघोडा लघुवित्तको मूल्य आम्दानी अनुपात १०० गुणाभन्दा धेरै छ।

निक्षेप संकलन र कर्जा परिचालन

निक्षेप संकलनको आधारमा पनि छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै १८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने घोडीघोडा लघुवित्तको सबैभन्दा कम ३ करोड ७६ लाख रहेको छ। थोक कर्जा प्रवाह गर्ने चारवटा आरएसडिसी लघुवित्त, आरएमडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स र साना किसान लघुवित्तको निक्षेप संकलन शुन्य छ।

कर्जा परिचालनका आधारमा साना किसान र निर्धन उत्थान लघुवित्तले क्रमश: २१ अर्ब ३७ करोड र २० अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। घोडीघोडा लघुवित्तको सबैभन्दा कम ३२ करोड ७४ लाख रुपैयाँ लगानी छ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीका आधारमा छिमेक लघुवित्त वित्तीय संस्थाअग्रस्थानमा रहेको छ।  संस्थाले गत आवमा१ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसैगरी निर्धन उत्थान, स्वावलम्बन, साना किसान लघुवित्त र ग्रामीण विकास लघुवित्तले १ अर्ब माथि खुद ब्याज आम्दानी गरेका छन्।

घोडीघोडा लघुवित्तले सबैभन्दा कम १ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

खराब कर्जा अनुपात

गत आवमा ग्रामीण विकास लघुवित्तको खराब कर्जा अनुपात ५.०८ प्रतिशत रहेको छ। यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि हो। राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि हुनु हुँदैन।

सर्पोट, फरवार्ड, नाडेप आँधिखोला, र महिला सहयात्राको खराब कर्जा अनुपात ४ प्रतिशत धेरै रहेको छ ।

(नोटः नेप्सेमा सूचीकृत ५१ लघुवित्तमध्ये किसान माइक्रोफाइनान्सले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन। यस्तै सिभिल लघुवित्तको १२.२५ प्रतिशत, मिथिला र नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत, महिला सहयात्रा र वोमी माइक्रोफाइनान्सको १० प्रतिशत, सबैको लघुवित्तको १३ प्रतिशत बोनसका लागि बुकक्लोज भइसकेकाले बोनस पूँजीकरण गरि चुक्ता पूँजी गणना गरिएको छ ।यसले कम्पनीले प्रकाशनमा ल्याएको वित्तीय विवरण भन्दा माथि उल्लेखित तथ्याङ्कमा सामान्य फेरबदल आएको छ ।)