कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च, एक जना संक्रमित पत्ता लगाउन एक लाख

0
Shares

कोभिड –१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै १२ अर्ब खर्च भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिए ।

सोअन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ ।

सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

एक जना संक्रमित पत्ता लगाउन एक लाख खर्च

नेपालमा एक जना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र  पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० पिसिआर परीक्षण खर्च भएको छ । “एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, ”, उनले भने, “ यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।”

उनले बाहिर निस्कनै प¥यो भने दुई मिटरको दूरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गरे ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ ।

यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष् र भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ छन् । संक्रमित शून्य रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् ।

उनले संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गरे। उनले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लाािग समस्या झनै थपिने बताए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तह, क्लब र टोललाई व्यक्तिगत भेटघाट र सामूहिक भेट गर्दा निगरानी गर्न र स्वास्थ्य सचेतना अभियान सञ्चालन, अनुगमन गर्न तथा स्वास्थ्य मापदण्डअनुसार पालना नगरे सम्बन्धित निकायलाई कारवाहीका लागि सिफारिस गर्न अनुरोध गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।