सस्तोडिलको माध्यमबाट फ्लिपकार्टका सामानहरु नेपाली बजारमा उपलब्ध

0
Shares

भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्ट सस्तोडिल डटकमसँगको रणनीतिक साझेदारी मार्फत नेपाली बजारमा भित्रिएको छ।

सस्तो डिल डटकममार्फत फ्लिपकार्टले नेपालमा बजार विस्तार गरेको हो। यो सँगै फ्लिपकार्टका सामान खरिदका लागि भारत जानुपर्ने बाध्यता हट्ने भएको छ ।

 

पहिलो चरणमा फ्लिपकार्टले भारतमा उपलब्ध गराउँदै आएका ५ हजार सामग्री सस्तो डिल डटकममा उपलब्ध गराउने जनाएको छ।

फ्ल्पिकार्टका निजी उत्पादनहरू अब सस्तोडिलमा नेपालमै उपलब्ध हुने भएपछि ग्राहकले अर्डर गरेकै दिन अथवा भोलिपल्ट सामाग्रीहरु पाउने सीईओ अमुन थापाले बताए ।

बच्चाको सामग्री, विद्युतीय सामाग्री, किताब, फर्निचर आदि क्रमशः थप्दै १ लाख भन्दा बढी सामग्री उपलब्ध गराउने यसको तयारी रहेको छ। फ्लिपकार्टले भारतमा १ करोडभन्दा बढी विविधताका सामग्री आफ्नो अनलाइन प्लेटफर्ममा उपलब्ध गराउँछ।

फ्लिपकार्टमा अधिकांश शेयर हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टको रहेको छ । भारतको बैंगलोरमा रहेको फ्लिपकार्ट डटकम सचिन वंशल र विन्नी वंशलले सन् २००७ मा शुरु गरेको ई-कमर्श कम्पनी हो।

दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले फ्लिकार्टको ८१ प्रतिशत शेयर १६ अर्ब अमेरिकी डलर तिरेर खरीद गरेको थियो। फ्लिकार्टमा माइक्रोसफ्टको पनि आंशिक लगानी रहेको छ।

यसभन्दा पहिले, दुई वर्षअघि २०७५ सालमा चिनियाँ ई-कमर्श कम्पनी अलिबाबा ग्रुपले नेपाल सहितका देशमा अनलाइन कारोबार गरिरहेको दराज डटकमको स्वामित्व खरीद गरेर नेपाली बजारमा प्रवेश गरेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।