निषेधाज्ञाका बीच ५० हजारले बैंक पुगेर गरे आईपीओ आवेदन


कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको ४ दिनमा ५० हजारभन्दा बढी सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामै पुगि प्राथमिक निष्काशनमा आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका सबै काम अनलाइनबाट गर्ने निर्देशन दिएको अवस्थामा पनि म्यानुअल आवेदन गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो ।

यसै साता प्राथमिक निष्काशन गरेका मध्ये सबैभन्दा धेरै आवेदन परेको रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर निष्काशन (आईपीओ) मा ५० हजार बढीले बैंक नै पुगेर आवेदन गरेका हुन् । त्यसैगरी लिवर्टी इनर्जीमा १७ हजार र समाज लघुवित्तमा झण्डै ४५ हजारले बैंकमै पुगेर आवेदन गरेका छन् ।

निषेधाज्ञा सुरु भएकै दिन बिहीबारदेखि रिलायन्स र समाजको आइपीओ निष्काशन सुरु भएको थियो । शेयर निष्काशन सुरु भए पछिका तीन कार्य दिनमा सीमित संख्यामा खुलेका राजधानीका अधिकांश बैंकका शाखाहरुमा शेयर आवेदन गर्नेको चाप देखिएको थियो ।

तीनवटै कम्पनीको प्राथमिक शेयरमा यसरी परेका आवेदनहरु दोहोरिने भएकाले रिलायन्स लाइफको आवेदन संख्यालाई आधार मान्दा ५० हजार बढी आवेदक बैंक पुगेका हुन् । कोरोना नियन्त्रणका लागि ४७ जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको अवस्था छ । नेपाल राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थालाई निर्देशन नै जारी गरी सीमित शाखा मार्फत सेवा दिन भनेको छ । यो अवस्थामा पनि बैंकमै पुगेर साधारण शेयरको आवेदन गर्नु भनेको संक्रमणको जोखिम भन्दा पनि सानो लाभको मोह ठूलो हुनु हो ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार आइतबार साँझसम्ममा बैंकहरुले ५० हजार म्यानुअल आवेदनको प्रविष्ट गरेको तथ्यांक हो । “आस्बा प्रणाली मार्फत बैंकमा पुगेर आवेदन गरेका अझै धेरै आवेदनहरु प्रविष्ट हुन बाँकी छ, बैंक वित्तीय संस्थामा सीमित जनशक्ति भएका कारण धेरै आस्बा आवेदन प्रविष्ट हुन सकेका छैनन्,” सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले नोटबजारसँग भने, “यो तथ्यांक अझै बढ्छ ।”

निक्षेप सदस्यहरुमा पनि डिम्याट खाता खोल्ने, मेरो शेयर नवीकरण तथा सुचारु गराउनेहरुको भीड उत्तिकै थियो । शुक्रबार मात्र लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालयमा लगानीकर्ताको भीड धेरै भएपछि प्रहरीले सबैलाई तितरबितर पारेको थियो । आइतबार भने क्यापिटलले कार्यालयका सबै बाहिरी ढोका बन्द गरेर सेवा प्रवाह गरेको छ ।

नक्सालस्थित एनएमबि क्यापिटलले पनि लगानीकर्ताको चाप निकै धेरै भएपछि कार्यालय परिसरमा सीमित लगानीकर्तालाई प्रवेश गराउँदै सेवा दिएको थियो । कार्यालय बाहिरको सडकमा भने लगानीकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो ।

“राजधानीमा निषेधाज्ञा जारी भएका बेला लगानीकर्ताहरु कसरी निक्षेप सदस्यकोमा भीड नै हुने गरी आउन सम्भव भयो भन्नेमा आश्चर्य लागेको छ” एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने, “बैंक वित्तीय संस्थाका साथै शेयर बजार सम्बद्ध संस्थाका कर्मचारी नै कार्यालय आउन कठिन परेको अवस्थामा लगानीकर्ताको चापले संक्रमण जोखिमलाइ नै वेवास्ता गरेको देखियो ।”

गत साततादेखि निष्काशन भएको तीन कम्पनीको प्राथमिक शेयरमा परेको कुल आवेदन मध्ये बैंकमा पुग्नेको संख्या औसतमा ९.३७ प्रतिशत हो ।

तीन कम्पनीको आइपीओ विवरण यस्तो छ :

  IPO Applicant detail as of 23rd Aug, Sunday 17:00  
S. No. Issuance Company From MeroShare from ASBA Total Application ASBA %  
1 Liberty Energy Company 172,648 16,992 189,640 8.96  
2 Reliance Life Insurance 460,807 50,567 511,374 9.89  
3 Samaj Laghubitta 434,987 44,467 479,454 9.27  
4 Total 1,068,442 112,026 1,180,468 9.37*  
5 Note*-  Average %          

अन्य जिल्लाको तुलनामा राजधानीका तीन जिल्लामा निषेधाज्ञाको स्वरुप कडा छ । प्राथमिक तथा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको हिस्सा पनि राजधानीमा नै धेरै छ । यद्यपी बैंकमा नै पुगेर शेयर आवेदन गर्नेहरु भने राजधानीमा भन्दा बाहिर धेरै छन् । राजधानीमा एउटा बैंकका तीनदेखि ५ शाखा मात्र सञ्चालित छन् । राजधानी बाहिर भने स्थानीय तहले दिएको निर्देशन अनुसार सीमीत संख्यामा बैंक वित्तीय संस्था सञ्चालनमा छन् । राजधानी बाहिरका लगानीकर्ताहरु अझै विद्युतीय प्रणालीबाट शेयर आवेदन गर्न अभ्यस्त नभएको देखिन्छ ।

दोस्रो बजारमा हुने सबै कारोबार तथा राफसाफ अनलाईनबाट गर्न निर्देशन दिएको धितोपत्र बोर्डले प्राथमिक निष्काशनमा पनि विद्युतीय माध्यमबाट मात्र आवेदन बुझ्ने व्यवस्था गर्नु पर्ने थियो । अहिले शेयर परेको खण्डमा पनि बिक्री गर्ने त अनलाइनबाट नै हो ।

“बोर्डले उचित निर्णय नगर्दा देशभरी बैंक वित्तीय संस्था र निक्षेप सदस्यकोमा शेयर आवेदन गर्ने, मेरो शेयर सुचारु गराउने, डिम्याट खाता नवीकरण गर्नेहरुको चाप धेरै देखियो,” एक मर्चेन्ट बैंकरले भने, “१० कित्ता शेयर आवेदन गर्न भीडभाड गर्ने लगानीकर्तालाई कोरोनाको कुनै डर नै देखिएन ।” नियामक निकाय अझै गम्भिर नदेखिएको उनको भनाई छ ।

यी समाचारहरु पढ्न छुट्नु भयो कि !!!

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।