मेरो शेयरमा यस कारण भईरहेको छ आईपीओ आवेदन भेरिफिकेशनमा ढिलाई

0
Shares

कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी भएपछि सर्वसाधारण्मा शेयर निष्काशन गरेका तीन कम्पनीको शेयरमा धेरै लगानीकर्ताबाट आवेदन आएको छ ।

विशेषगरी मेरो शेयरबाट परेको आईपीओ आवेदनको प्रमाणीकरणमा ढिलाई भएको भन्दै लगानीकर्ताहरुले विभिन्न फोरमहरुमा चासो व्यक्त गरिरहेका छन् । आखिर किन भईरहेको छ मेरो शेयरको आवेदन भेरिफिकेशनमा ढिलाई ?

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को आस्बा प्रणालीलाई बैंक तथा वित्तीय संस्थासँग पहुँच स्थापित गरी शेयर आवेदन संकलन गर्ने प्रणालीको विकास गरिएको छ । लगानीकर्ताले निक्षेप सदस्यबाट मेरो शेयरको लगइन आईडी तथा पासवर्ड लिएपनि प्राथमिक शेयर निष्काशनका दौरानमा बैंक वित्तीय संस्थाको भूमिका धेरै हुन्छ ।

लगानीकर्ताले सी आस्बा रजिष्ट्रेशन (सीआरएन) नम्बर बैंक तथा वित्तीय संस्थाबाट लिन्छन् । सिडिएससीको प्रणालीमा बैंकको पहुँच हुने भएकाले नै बैंकहरुले सीआरएन नम्बर दर्ता गर्ने मात्र नभई शेयर आवेदन लिने र तथ्यांक प्रमाणीकरण तथा प्रविष्ट गर्ने काम पनि बैंकहरुले नै गर्छन् । मेरो शेयरबाट गरिने आवेदन सबैभन्दा पहिले सम्बन्धित बैंक वित्तीय संस्थाको प्रणालीमा पुगेपछि यो प्रकृयाको सुरुवात हुन्छ । लगानीकर्ताले शेयर आवेदन गरिसकेपछि पहिलो चरणमा ग्राहकहरुको बैंक खाता रहेको (सीआरएन लिएको) बैंकको प्रणालीमा पुग्छ ।

त्यसपछि शेयर आवेदन विवरण, बैंक खातामा पर्याप्त रकम मौज्दात भए/नभएको हेरेर मात्र बैंकले मेरो शेयरबाट परेको आवेदन भेरिफाई गरी आवेदन बराबरको रकम रोक्का राखिदिन्छन् । बैंकहरुले यो काम स्वःचालित रुपमा नभई म्यानुअल गर्नुपर्ने हुन्छ ।

सोमबार दिउँसोसम्ममा रिलायन्स लाइफ र समाज लघुवित्तमा क्रमशः झण्डै ६ लाख र ५ लाख बढी आवेदन परेको छ। उता आइतबार साँझसम्ममा लिबर्टीको आईपीओमा पनि झण्डै २ लाख शेयर आवेदन परेको छ । अर्कातिर सिभिल लघुत्तिले पनि अहिले नै हकप्रद शेयर निष्काशन गरिरहेको छ ।

उल्लेखित ४ कम्पनीको शेयरमा सोमबार साँझसम्ममा झण्डै १४ लाख वटा आवेदन पर्ने अनुमान गर्न सकिन्छ । यो आँकडा १३ लाख नै भयो भने पनि सबै आवेदन भेरिफाई गर्ने भनेको बैंक वित्तीय संस्थाले नै हो ।

निषेधाज्ञाका बीच ५० हजारले बैंक पुगेर गरे आईपीओ आवेदन

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अहिले मुलुकभर थोरै कर्मचारीबाट सीमित संख्यामा बैंक वित्तीय संस्थाहरु खुलेका छन् । यो अवस्थामा ठूलो संख्यामा परेको आईपीओ सबै बैंक वित्तीय संस्थाले म्यानुअल प्रणालीबाट भेरिफाई गर्दै लगानीकर्ताको बैंक खातामा रहेको रकम रोक्का गरिदिन्छन् ।

सीमित शाखामा बैंक खुलेका कारण नै बैंक वित्तीय संस्थाले एकै पटक लाखौं आवेदन भेरिफाई गर्न नसक्ने अवस्था देखिएको हो । अहिले केन्द्रीय निक्षेप प्रणालीको आस्वा तथा सीआस्वा प्रणालीमा ६४ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यी बैंक वित्तीय संस्थाका १ हजारभन्दा बढी शाखाबाट लगानीकर्ताले सीआस्वा लिएका छन् । तर अहिले सीमित संख्यामा खुलेका शाखाले सबै आवेदन भेरिफाई गरिरहेका छन् ।

अर्कातिर मेरो शेयर नलिएका लगानीकर्ताले बैंकमा नै उपस्थित भएर कागजी फारम भरेर आस्वा प्रणालीबाट पनि हजारौंको संख्यामा शेयर आवेदन गरिरहेका छन् । त्यसरी प्राप्त हुने आवेदनलाई बैंकले सिडिएससीसँगको प्रणालीमा प्रविष्ट गर्दै भेरिफाई गर्नुपर्ने हुन्छ । यो प्रकृयाले पनि बैंक वित्तीय संस्थाले शेयर आवेदन भेरिफाई गर्न समय पाइरहेका छैनन् ।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार लगानीकर्ताले मेरो शेयर लग इन गर्दा अझै केही दिनसम्म आईपीओ भेरिफाई भएको नदेखिन सक्छ । “बैंक वित्तीय संस्था अनुसार कसैको आवेदन भेरिफाइ भइसकेको भए पनि अर्को व्यक्तिको भेरिफाई नभएको हुन सक्छ,” सिडिएससी प्रवक्ता सुरेश न्यौपानेले भने, “ क्रमिक रुपमा सबै बैंकहरुले आवेदन भेरिफाई गर्दै जान्छन् ।” लगानीकर्ताको बैंक खातामा शेयर आवेदन गरे अनुसारको रकम मौज्दात भएको खण्डमा आवेदन जहिले भेरिफाई भए पनि फरक नपर्ने न्यौपानेको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।