एक वर्षमा झण्डै एक खर्बको धितोपत्र सूचीकृत, २८ अर्ब बढीको बोनस

0
Shares

गत आर्थिक वर्ष २०७६/७७ मा धितोपत्र बजारमा एक खर्ब करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, म्युचअल फण्ड, हकप्रद शेयर, र अन्य गरि ९९ अर्ब ३० करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ३१ अर्ब ९४ करोड बराबरको डिबेन्चर सूचीकृत भएको छ। 

यस्तै २८ अर्ब १५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरी यस्तै १३ अर्ब ६४ करोड बराबरको साधारण शेयर, ५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड र ४ अर्ब ६९ करोड बराबरको हकप्रद शेयर र १५ अर्ब १४ करोड बराबरको अन्य, गरी कूल ९९ अर्ब ३० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन्।

यस्तै नेपाल धितोपत्र बोर्डले ३३ अर्ब ६६ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति प्रदान गरेको छ। साधारण शेयर (आईपीओ), हकप्रद शेयर, डिबेन्चर, र म्युचुअल फण्ड गरि सो रकम बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको हो।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सबैभन्दा धेरै २३ अर्ब ४५ करोड बराबरको डिबेन्चर रहेको छ। यस्तै बोर्डले ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, ३ अर्ब ९९ करोड बराबरको साधारण शेयर र १ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्डका इकाई जारी गर्न अनुमति प्रदान गरेको हो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असारसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ४७३ अर्ब ३९ करोड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।