रिलायन्स लाइफको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर !

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) को प्राथमिक शेयर (आईपीओ) मा १० कित्ता शेयर पाउन पनि भाग्यकै भर पर्नुपर्ने अवस्था आएको छ। कम्पनीको आइपीओमा आवेदक संख्याको आधारमा नयाँ रेकर्ड कायम हुँदा कम्पनीको आईपीओमा लगानी गरेका लगानीकर्ताले भने १० शेयर शेयर पाउन पनि गोलाप्रथाबाट भाग्यमानी साबित हुनुपर्ने अवस्था सिर्जना भएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार चौथौ दिन सोमबार साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ३३१ वटा आवेदन परेको छ। यो प्रारम्भिक तथ्याङ्क नै हालसम्म निष्काशन भएको आईपीओमा परेको आवेदक संख्याभन्दा अहिलेसम्मको नै उच्च संख्या हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ।

यसअनुसार रिलायन्सको आईपीओमा ५ लाख ६७ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तर सोमबार बेलुकासम्मको तथ्याङ्क अनुसार नै ६ लाख ६ हजार बढी आवेदन परिसकेकाले अहिलेको तथ्याङ्क अनुसार नै ३९ हजार बढी आवेदकको हात खाली हुने अवस्था देखिएको छ।

सि-आश्वा मार्फत बैंक वित्तीय संस्थाबाट पर्ने आवेदन आउने क्रम जारी रहेकाले थप हुँदा शेयर नपाउने संख्या अझ बढ्नेछ। सर्वसाधारणबाट ५६ लाख ७० हजार कित्ताका लागि माग गरिएकोमा ४.२६ गुणा बढी अर्थात २ करोड ४१ लाख ३१ हजार ८७० कित्ताको लागि आवेदन परेको छ।

रिलायन्स लाइफले भदौ ४ गते बिहीबारदेखि सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ । कूल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

हाल रिलायन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।