निजी क्षेत्रको कर्जा वृद्धि १२ र आन्तरिक १३.६ प्रतिशतमा सीमित

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुबाट गत आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले कुल आन्तरिक कर्जा २४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको थियो । तर, विश्व महामारी कोरोना भाइरस संक्रमणका कारण गरिएको ४ महिने लकडाउनको कारण गत आर्थिक वर्ष चौथो त्रैमासमा बैंक वित्तीय संस्थाको कर्जा प्रवाह ठप्प भएपछि निजी क्षेत्र तर्फको कर्जा घटेको हो ।

गत आवमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा ६ विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।

२०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २७.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ७.२ प्रतिशतले, ट्रष्ट रिसिप्ट कर्जा ८.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १४ प्रतिशतले, रियल स्टेट कर्जा ८.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.८ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल आन्तरिक कर्जा १३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २१.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी १९.१ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारले १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । यस अवधिमा नेपाल सरकारले १ खर्ब ६० अर्ब २४ करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गाहस्थ्य उत्पादनको ४.३० प्रतिशत हुन आउँछ । यस अवधिमा सरकारले १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।

२०७७ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ८ खर्ब ५ अर्ब ८३ करोड र आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १४ खर्ब १९ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३०.३ प्रतिशत रहेको थियो । २०७७ असार मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।