अर्थतन्त्रको वित्तीय विकासको अवस्था सकारात्मक, मनि सप्लाई सीमा भित्रै

0
Shares

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले निर्धारण गरेको सीमा भित्र मनि सप्लाई भएकाले अर्थतन्त्रको वित्तीय विकासको अवस्था सकारात्मक रहेको छ । गत आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन भन्दा विस्तृत मुद्रा प्रदाय माथि भएपछि अर्थतन्त्रको मोनिटाइजेसन उपयुक्त देखिएको हो ।

विस्तृत मुद्रा प्रदाय अर्थतन्त्रको वित्तीय विकासको अवस्था अर्थात मौद्रिकीकरणको स्तर मापन गर्ने सूचक पनि हो । हाल विस्तृत मुद्रा प्रदाय ४० खर्ब रहेको बताँउदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले भने, “गत वर्षको कुल ग्राहस्थ उत्पादनको आकार ३७ खर्ब ६७ अर्ब रहेको छ, जीडीपीको आकार भन्दा विस्तृत मुद्रा प्रदाय धेरै भएको हुदाँ यसले उपयुक्त मुद्रिकरण अवस्था देखाँउछ ।”

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदायको विस्तार १८.१ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षमा विस्तृत मुद्राप्रदायको विस्तारलाई १८ प्रतिशतको सीमा भित्र गर्ने लक्ष्य लिएको थियो ।

चालु आर्थिक वर्षमा पनि केन्द्रीय बैंकले विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशतमा राख्ने लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा विस्तृत मुद्राप्रदाय १८.१ प्रतिशतले बढेको छ  । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १५.८ प्रतिशतले बढेको थियो । गत आवमा खुद वैदेशिक सम्पत्ति २८२ अर्ब ४१ करोड अर्थात २८.७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष उक्त सम्पत्ति ६७ अर्ब ४० करोड रुपैयाँ अर्थात ६.४ प्रतिशतले घटेको थियो । गत आवमा सञ्चित मुद्रा २६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा १.५ प्रतिशतले घटेको थियो ।

विस्तृत मुद्राप्रदायले देशको समग्र मौद्रिकीकरणको स्थितीको मापन गर्छ । यसले देशमा कति पैसा छ भन्ने कुराको मापन गर्छ। संकुचित मुद्रा प्रदाय सर्वसाधारणसंग चलन चल्तिमा रहेको र बैंक वित्तीय संस्थाको चालु खातामा रहेको पैसाको योग हो।

तर, विस्तृत मुद्रा प्रदायमा सर्वसाधारणसंग चलन चल्तिमा रहेको, बैंक वित्तीय संस्थाको चालु, मुद्दती र बचत खातमा रहेको पैसाको कुल योगफल हो ।

गत आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १८.१ प्रतिशत हुनु भनेको तोकिएको सीमाभित्र नै रहेको हुनाले अर्थतन्त्रमा मनि सप्लाइ प्रभावकारी रुपमा भैरहेको भट्टले बताए । “यो सीमा नाघेको खण्डमा जनतासंग पैसा धेरै हुन्छ,” उनले भने,“ जनतासंग पैसा धेरै भएको खण्डमा महंगी बढाउँछ, थोरै भएको खण्डमा आर्थिक गतिविधिहरु बढ्न नसक्दा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासील हुन सक्दैन ।”

मुद्रा प्रदाय आवश्यकता भन्दा न्यून भएमा अर्थतन्त्रमा मूल्य घट्ने, ब्याज दर बढ्ने, कर्जा महङ्गो हुन गई संकुचन हुने, मुलुकको मुद्राको पुनर्मूल्यांकन हुँदै जाने हुन्छ । फलस्वरूप निर्यात घट्ने, आयात बढ्ने र विदेशी मुद्राको सञ्चिति घट्दै जाने हुन्छ ।

यसरी मुद्राप्रदाय आवश्यकताभन्दा घटी वा बढी जे भए पनि त्यसले अर्थतन्त्रको हित गर्दैन । त्यसैले यसलाई ठीक स्तरमा कायम राख्नुपर्ने हुन्छ । विस्तृत मुद्रा प्रदायलाई विप्रेषण, प्रत्यक्ष विदेशी लगानी, वैदेशिक ऋण आदिले बढाउन सक्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।