बन्दाबन्दीमा डिम्याट खाता खोल्नेभन्दा मेरो शेयर लिनेको संख्या धेरै

0
Shares

भनिन्छ कुनै अप्ठेरो परिस्थिति उत्पन्न नभई मानिस अरु विकल्पको सहायतमा काम गर्न चाहँदैन । चाहे त्यो वैकल्पिक उपायबाट झनै सजिलो शैलीमा सम्पन्न हुने काम नै किन नहोस, तर पनि मानिस त्यसमा अभ्यस्त हुन नै चाहँदैन । तर जब परिस्थिति प्रतिकूल बन्छ अथवा भनौं बाध्यात्मक बन्छ अनि मात्र बल्ल बल्ल मानि त्यो वैकल्पिक बाटोलाई मुख्य बाटोका रुपमा प्रयोग गर्न थाल्छ ।

हो, अनलाइन शेयर कारोबार प्रणाली सुरु भएको २ वर्ष पुग्नै लाग्दा समेत अपेक्षित रुपमा अनलाइन प्रणालीबाट शेयर कारोबार गर्नेहरु बढ्न सकेनन् । तर कोरोना भाइरस संक्रमणको जोखिमले भने सूचना र प्रविधिको प्रयोगलाई बाध्य बनाएपछि लगानीकर्ताहरु यसको प्रयोगमा विस्तारै अभ्यस्त हुन थालेका छन् ।

बन्दाबन्दीकै बीचमा आधा दर्जन कम्पनीले साधारण शेयर निष्काशन गर्दा त्यसले पनि लगानीकर्तालाई साधारण शेयर आवेदन गर्न केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को मेरो शेयरमा आबद्ध हुन बाध्य बनाएको छ । अझ नेपाल धितोपत्र बोर्डले बन्दाबन्दीपछि शेयर बिक्रीको आदेश (डिआईएस) विद्युतीय माध्यमबाट मात्रै गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि मेरो शेयर लिनेको संख्यामा उल्लेख्य बढोत्तरी भएको छ। यस्तो अवस्थाले पनि पछिल्लो समय डिम्याट खाता खोल्नेभन्दा मेरो शेयर लिनेको संख्या धेरै देखिएको हो ।

शेयर राफसाफको लागि इडिआईएस गर्न मेरो शेयर सफ्टवेयर लिन अनिवार्य भएपनि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार नगर्ने लगानीकर्ताहरुका लागि आईपीओ आवेदनका लागि नै मेरो शेयर खाता नहुँदा पनि हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत कागज भरेर नै आईपीओमा आवेदन गर्न सकिन्छ ।

सोही कारणले अझैपनि बैंक वित्तीय संस्थामा पुगेर नै शेयर आवेदन गर्नेहरुको कमी आएको छैन। निषेधाज्ञाको बीचमा खुलेको रिलायन्स लाईफको आईपीओमा बन्दा बन्दीको बीच बैंक तथा वित्तीय संस्थामा पुगेर ५५ हजार बढीले कागज भरेर शेयर भएका छन् ।

गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको थियो । चैत १ गतेदेखि भदौ १० गते बुधबार साँझसम्मको तथ्याङ्क हेर्दा २ लाख ९ हजार ४०० जनाले डिम्याट खाता खोलेका छन् भने मेरो शेयर लिनेको संख्या डिम्याट खाता खोल्नेभन्दा २६ हजार ४०० बढी २ लाख ३५ हजार ८०० जनाले लिएका छन् ।

सिडिएससीका अनुसार बन्दाबन्दी र कोरोना संक्रमण जोखिमले गर्दा साविकमा डिम्याट खाता खोलिसकेकाहरुले पनि धमाधम मेरो शेयर लिन थालेका हुन् । सिडिएससी प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा हालसम्म १८ लाख ४७ हजारको हाराहारीमा डिम्याट खाता खुलेको छ ।

उता मेरो शेयर लिनेको संख्या भने ७ लाख २० हजार हाराहारीमा मात्र छ । एक लगानीकर्ताले एकभन्दा धेरै डिम्याट खाता खोलेकाले पनि मेरो शेयरको तुलनामा डिम्याट खाता लिनेको संख्या २.५६ गुणा धेरै छ। डिम्याट खातामा दोहोरोपनाले गर्दा संख्या धेरै भएको हो ।

पछिल्लो समय भने डिम्याट खाता खोल्नेसँगै मेरो शेयर लिनेको संख्यामा पनि सोही अनुसारको वृद्धि भएको छ । दोस्रो बजारबाट हुने कारोबारको राफसाफका लागि अनिवार्य विद्युतीय भुक्तानी प्रणाली (इडिआईएस) मार्फत गर्नुपर्ने र बन्दाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा पुगेर शेयरमा आवेदन गर्न कठिनाई उत्पन्न हुने अवस्थाले पनि मेरो शेयर लिनेहरुको संख्यामा उल्लेखनीय बढोत्तरी आएको उनको भनाई छ ।

मेरो शेयर लिएका लगानीकर्ताको आधारमा हेर्दा धेरैले प्राथमिक निष्काशनमा आवेदन गर्ने गरेको देखिएको छ । कुल ७ लाख २० हजारले मेरो शेयर लिएकोमासबैभन्दा धेरै आवेदन परेको रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयरमा मात्र ६ लाख १० हजारले आवेदन गरेका छन् ।

मेरो शेयर लिएकाहरुमध्ये १ लाख १० हजारले मात्र शेयर आवेदन नगरेको देखिएको हो । यद्यपी झण्डै ५५ हजार आवेदकले मेरोशेयरबाट नभई बैंकमा पुगेर आस्वा प्रणालीबाट शेयर आवेदन गरेको तथ्याङ्क छ । यस आधारमा हेर्दा पनि ५ लाख ५५ हजार मेरो शेयर प्रयोगकर्ताले रिलायन्सको शेयर आवेदन गरेका छन् ।

निक्षेप सदस्यहरुका अनुसार मेरो शेयरका लागि आवेदन दिने लगानीकर्ताको संख्या अझै धेरै भए पनि पछिल्लो पटकको बन्दाबन्दीले धेरै आवेदकको मेरो शेयर सुचारु गराउन सकिएको छैन । साधारण शेयर भर्नका लागि धेरैले मेरो शेयर लिने गरेको निक्षेप सदस्यहरुको भनाई छ ।

‘सामान्य अवस्थामा खोजी नै नगरी बस्ने अनि शेयर निष्काशन सुरु भएपछि संक्रमण जोखिम र बन्दाबन्दीको समेत वास्ता नगर्ने शैली धेरै लगानीकर्तामा देखियो,’ एक निक्षेप सदस्यका कर्मचारीले भने, ‘हामीले सीमित जनशक्तिबाट सेवा प्रवाह गरिरहेका छौं । त्यसैले गर्दा सबैलाई भनेकै समयमा नै मेरो शेयर सुचारु गराउन सक्ने अवस्था छैन। हाम्रो समस्यालाई पनि लगानीकर्ता अनि नियामक निकायले बुझिदिनुपर्छ ।’

कागजी कामलाई धेरै प्राथमिकतामा लिने लगानीकर्ता रहेको बजारमा बन्दाबन्दीले नै भएपछि विद्युतीय माध्यमलाई प्राथमिकतामा राख्ने क्रम तीब्र हुनु सकरात्मक पाटो रहेको उनको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।