कम्पनी छनौटमा ध्यान दिनसके दोस्रो बजारबाट अझै लिन सकिन्छ फाईदा , सुरक्षित कम्पनी कसरी छनौट गर्ने ?

0
Shares

धितोपत्रको दोस्रो बजारमा लगानीगर्ने अधिकांस लगानीकर्ताको ध्यान नेप्से सूचक कति बढ्यो वा घट्यो भन्नेमा नै केन्द्रीत हुने गरेका छन् । तर, स्मार्ट लगानीकर्ताहरुले भने समग्र सूचक भन्दा पनि आफुले लगानी गर्ने कम्पनीको इन्डिकेटरको बारेमा अध्ययन गरेर लगानीको निर्णय गर्ने गर्छन् ।

नेप्से सूचक बढ्दा सबै कम्पनीको शेयर मूल्य बढ्दैन भने सूचक घट्दा सबै कम्पनीको शेयर मूल्य पनि घट्दैन् । बलिया र राम्रा कम्पनी छनौट गर्न सकेमा नेप्से सूचक ठूलो अंकले तलमाथि हुँदा पनि शेयर मूल्य प्रभावित नहुने धेरै कम्पनीहरु छन ।

बजार बढ्दा पनि सबै कम्पनीको शेयर मूल्य नबढ्नसक्छ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न हामीले वाणिज्य बैंक समूहमा पछिल्लो डेढ महिनामा भएको उतारचढाबलाई प्रस्तुत गरेका छौ ।

नयाँ आर्थिक वर्ष लागेयता अर्थात साउन १ गतेबाट भदौ ११ गतेसम्म करिब डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरुको शेयर मूल्यमा के कस्तो परिवर्तन आयो भन्ने तथ्य यहाँ केलाइएको छ । पछिल्लो डेढ महिनाको अवधिमा नेप्से सूचक ६३.२७ अंकले बढेको छ । गत साउन १ गते १३९४.७७ अंकमा रहेको नेप्से सूचक भदौ ११ गतेसम्म आइपुग्दा १४५८.०४ अंकमा उक्लिएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको समूहगत सूचक २६.४८ अंक अर्थात २.२१ प्रतिशतले उकालो लागेको छ।

तर, समग्र सूचक र वाणिज्य बैंकको समूहगत सूचक बढ्दा पनि ८ वाणिज्य बैंकको शेयर मूल्यमा गिरावट आएको छ । यसले के देखाउँछ भने समग्र सूचक बढ्दैमा सबै कम्पनीको शेयर मूल्य बढ्दैन र सूचक घट्दैमा सबै कम्पनीको शेयर मूल्य घट्दैन ।

पछिल्लो डेढ महिनाको अवधिमा ८ वाणिज्य बैंकको शेयरमूल्य घट्दा दुई बैंकको स्थिर रहेको देखिन्छ । यस्तै ७ वाणिज्य बैंकको २ प्रतिशतभन्दा कमले शेयर मूल्य बढ्दा ९ वाणिज्य बैंकको शेयरमूल्य ३ प्रतिशतदेखि १३ प्रतिशतसम्म बढेको देखिन्छ।

समीक्षा अवधिमा नेपाल बैंकको शेयरमूल्य सबैभन्दा धेरै अर्थात १३.२३ प्रतिशतले बढेको छ । गत साउन १ मा प्रतिकित्ता २५७ रहेको नेपाल बैंकको शेयर मूल्य भदौ ११ सम्म आइपुग्दा प्रतिकित्ता ३४ रुपैयाँले बढेर २९१ रुपैयाँ पुगेको छ । शेयरमूल्य धेरै बढ्नेमा नबिल, प्राइम, कृषि विकास, एभरेष्ट, लक्ष्मी, एनआईसीए, एनएमबी र बिओकेल क्रमश दोस्रोदेखि नवौं स्थानसम्म रहेका छन् ।

यसअवधिमा सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको शेयरमूल्य ५.६३ प्रतिशतले घटेको छ । त्यस्तै धेरै मूल्य घट्नेमा नेपाल इन्भेष्टमेन्ट, सनराइज, सिभिल, एसबिआई, कुमारी, प्रभु र सिद्धार्थ बैंक रहेका छन् । यी बैंकहरुको शेयरमूल्य ०.३३ प्रतिशतदेखि ३.६४ प्रतिशतसम्म ओरालो लागेको छ ।

राम्रा र सुरक्षित कम्पनी कसरी छनौट गर्ने ?

नेपालको दोस्रो बजारमा २ सय भन्दा बढी कम्पनी सूचिकृत रहेका छन् । यसमध्ये राम्रो शेयर छान्न नयाँ लगानीकर्ताका लागि केही असहज हुनसक्छ । दोस्रो बजारमा लगानीगर्नका लागि राम्रो कम्पनी छान्ने केही उपायहरु यसप्रकार रहेका छन् ।

बजार पूँजीकरण धेरै भएको कम्पनीको शेयर राम्रो मानिन्छ । साथै ठूलो पूँजी भएको कम्पनीमा चलखेल असम्भव हुने हुँदा यस्ता कम्पनीमा कम जोखिम हुनेगर्छ।
वित्तीय अवस्था राम्रो भएको कम्पनी छनौट गरेर लगानी गर्न सकेमा पनि फाइदा लिन सकिन्छ । यसका लागि कम्पनीहरुले प्रकाशित गरेका वित्तीय विवरणहरुको अध्ययन गर्नुपर्छ ।

संस्थागत सुशासन राम्रो भएका कम्पनीको शेयरमा लगानीकर्ता पनि जोखिम कम हुने गर्छ । विगतमा नियामकीय निकायबाट कुनै कारबाहीमा नपरेका कम्पनीहरु, स्वच्छ छबिका प्रबद्धक र संचालक भएका कम्पनीहरु नै बजारका राम्रा कम्पनी मानिन्छन् ।

विगत तीन चार वर्षयतादेखि नियमित रुपमा लाभांश बाँडेका साथै लाभांशदर बढाउँदै लगेका कम्पनीहरु छान्न सकिन्छ । यस्ता कम्पनीमा लगानीगर्दा कम्पनीको मूल्य घटेमा पनि लाभांशले राहत दिनसकोस ।

त्यस्तै कम्पनीकोहरुको नाफा, जगेडा, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, कुल नेटवर्थ तथा शेयर मूल्यमा भएको उतारचढाबको अध्ययन गरेर पनि उपयुक्त कम्पनी छनौट गर्न सकिन्छ ।

बाणिज्य बैंकहरुमा कुन कम्पनीको शेयर किन्दा राम्रो होला ?

नेपालको धितोपत्र बजारका लगानीकर्ताले आफुले लगानी गर्न चाहेका कम्पनीहको आधारभुत अवस्थाबारे जानकारी नराखी हल्ला र अरुको लहैलहैमा लाग्दा अप्रत्याशित नोक्सानी र जोखिम बहन गरेको अवस्था पनि छ । कम्पनीको वास्तविक अबस्था पत्ता लगाउने, तथ्य विश्लेषण गर्ने र जोखिम मूल्याङकन गरेर लगानी गर्ने गरेमा अहिलेको बजारबाट पनि राम्रा र सुरक्षित कम्पनीहरु छनौटको अवसर कायमै छ ।

नेपालको पूँजी बजारको अबस्था हेर्दा सबैभन्दा भरपर्दा र चलायमान कम्पनीहरु भनेका बाणिज्य बैंकहरु नै हुन । अन्य कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुको शेयरमा कम जोखिम हुनुका साथै धितोपत्रहरु सहजै बेच्न सकिने, धितो राखेर कर्जा लिन सकिने अवस्था रहन्छ । बाणिज्य बैंकहरुको चुक्ता पूँजी, कमाई, जोखिम ब्यवस्था र लाभांश बाड्नसक्ने क्षमता लगायतका आधारभुत कुराहरुको बिश्लेषण गरेर लगानीको निर्णय लिन सकिन्छ ।

चुक्ता पूँजी र खुद नाफा

चुक्ता पूँजी बैंकहरुको लागि आधार हो तर चुक्तापूँजी धेरै हुँदैमा बैंकहरुको खुद नाफा धेरै हुन्छ भन्ने भ्रम पाल्नु हुँदैन् । बैंकहरुले नाफा कसरी बढाएका छन भन्ने पनि हेरिनुपर्छ । बैंकहरुले नियमित बैंकिङ कारोबारबाट नाफा बढाउँदै लगेका छन् कि गैर बैंकिङ आम्दानीबाट नाफा बढाएका छन् । शेयर लगानीकर्ताले यस बारेमा अध्ययन गर्नुपर्ने हुन्छ ।

बैंकहरुले ब्याज आम्दानी, संचालन आम्दानी, शुल्क, कमिशन, बिदेशी मुद्राको कारोबार जस्ता स्रोतहरुबाट कति कमाएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय बैंकहरु क्रमबद्द रुपमा नाफा बढाउँदै लगेको पाइन्छ भने कतिपयले खराब कर्जा उठाएर तत्कालका लागि खुद नाफा देखाउने गरेका पनि हुन्छन् । बैंकहरुको नाफा किन र कसरी बढ्यो भन्ने पनि शेयर लगानीकर्ताका लागि अध्ययनको एउटा विषय हुनसक्छ ।

बैंकहरुको कोषको लागत बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याज र ऋणीहरुबाट लिने ब्याज अन्तरले पनि बैंकहरुको कमाईमा असर पार्ने गर्छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशत हुनुपर्छ ।

निक्षेप तथा कर्जा बिस्तार

बैंकहरुको प्रगति निक्षेप संकलन र कर्जा बिस्तारको अबस्था हेरेर पनि मापन गर्न सकिन्छ । निक्षेप संकलन बढाउन नसक्नेले कर्जा पनि आक्रामक रुपमा बिस्तार गर्न सक्दैन र खुद नाफा पनि बढाउँन सक्दैन भन्ने देखिएको छ । विगतका वर्षहरुको तुलनामा निक्षेप र कर्जाको आकार समानुपातिक रुपमा बढाँउदै लगेका बैंकहरुका शेयरमा गरिएको लगानीमा कम जोखिम देखिन्छ । निक्षेप र कर्जा बढ्नु भनेको बैंकको व्यवसाय बढ्नु हो व्यवसाय विस्तारले बैंकको कमाईमा समेत प्रभाव पार्नेगर्छ।

प्रति शेयर आम्दानी

बैंकहरुले प्रतिशेयर आम्दानी जति बढाउँदै लग्छन् शेयर लगानीकर्ताहरुले त्यत्ति नै धेरै प्रतिफल पाउने गर्छन् । यसले प्रतिशेयर आम्दानी बढाउँदै लगेका बैंकहरु लगानीकर्ताका लागि उपयुत्त हुनसक्छन् । कतिपय बैंकहरुले पूँजी बढाउँदा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् । पूँजी बढाउँदा समेत प्रतिशेयर आम्दानी सन्तुलनमा राखेका बैंकहरु शेयर लगानीकर्ताका लागि राम्रा मानिन्छन् । यस्ता बैंकहरुले एकनासको लाभांश दिने क्षमता राख्ने गर्छन् ।

जोखिम ब्यवस्थापन तथा खराब कर्जा

बैंकहरुले प्रबाह गरेको कर्जाको साँवा ब्याज तोकिएको समयमा असुल भएन भने यस्ता कर्जाहरु निस्क्रिय कर्जामा पर्छन् । यस्ता निस्क्रिय कर्जा वापत बैंकहरुले तोकिए अनुसारको रकम जोखिम ब्यहोर्ने कोषमा छुट्याउँनु पर्ने हुन्छ । बढी रकम प्रोभिजन गर्नु पर्यो भने बैंकहरुको नाफा घट्छ । राष्ट्र बैंकले निस्क्रिय कर्जाको अनुपात पाँच प्रतिशत भन्दा तल हुनुपर्ने गरी तोकेको छ । पाँच प्रतिशत भन्दा बढी निस्क्रिय कर्जा भएका बैंकहरुलाई सामान्यतया राष्ट्र बैंकले लाभांश बाड्ने अनुमति पनि दिदैन भने सीमा नाघेका राष्ट्र बैंकले कारबाही समेत गर्छ ।

यस्तै पछिल्लो चरणमा एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्दा इम्पेरिमेन्ट चार्ज शिर्षकमा बैंकहरुले विभिन्न जोखिम वापतको व्यवस्था राख्नुपर्नेहुन्छ । यो शिर्षकमा बढी रकम भएका र इम्पेरिमेन्ट चार्ज बढ्दै गएका बैंकहरुले पनि लगानीकर्तालाई दिने प्रतिफल घट्ने गर्छ ।

जगेडा कोष 

बैंकहरुको लगानी बिस्तार र जोखिम ब्यवस्थापन गर्न जगेडा कोषले महत्वपूर्ण भुमिका खेल्ने गर्छ । पूँजी, निक्षेपका साथै जगेडा कोष पनि कुन बैंक कति बलियो छ भनेर नाप्ने आधार हो । त्यसैले कम्पनीहरुले खुद नाफाबाट आर्जित सबै रकम लगानीकर्ताहरुलाई नबांडी केही रकम यस्तो कोषमा राख्ने गर्छन । लगानीकर्तालाई लाभांश बाड्न नपाउने कम्पनीहरुले खुद नाफालाई जगेडा कोषमा राख्ने गर्छन भने लाभांश बाड्न पाउने अबस्थामा त्यो कोषको पनि उपयोग गर्छन ।

विगतका बर्षहरुमा दिएको लाभांश

राम्रा कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश दर बढाउँदै लाने गर्छन् । राम्रो नाफा गरेका बैंकहरुले लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउनेगरी लाभांश दिनसक्छन् । पूँजी पर्याप्त भएका र बर्षेनी बोनस शेयर र नगद लाभांशमा संतुलन गरी वितरण गर्दै आएका बैंकहरु लगानीकर्ताका लागि उपयुक्त हुनसक्छन् ।

अन्य कुरा

शेयर बजारमा अल्पालिन तथा दिर्घकालीन प्रकारका लगानीकर्ता हुन्छन् । यी दुवै लगानीकर्तालाई कम्पनी छनौटको एउटै सुत्रले काम नगर्न पनि सक्छ । कम्पनीमा कुन प्रकारले लगानी गर्न लागिएको त्यसले पनि कम्पनी छनौटमा फरक पार्छ । विशेषत वाणिज्य बैंकहरु भनेका अल्पकालिन भन्दा दीर्घकालिन लगानीका लागि नै उपयुक्त मानिन्छन् । अन्य कम्पनीहरुमा जस्तो वाणिज्य बैंकहरुको शेयरमा तिब्र उतारचढाब नहुने भएकाले पनि दीर्घकालिन लगानी गर्न सकिन्छ ।

केही बाणिज्य बैंकहरुले आफ्नो कर्जा बिस्तारमा आबश्यक पर्ने पूँजीका लागि सहायक हुने गरी बण्ड र डिबेन्चर पनि जारी गरेका छन् । यस्ता बैंकहरुले आकर्षक बोनस शेयर दिने संभावना रहन्छ ।

अन्य आधारहरु

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लगानीलाई पनि आधार बनाएर शेयर बजारमा लगानी गर्न सकिन्छ । सामूहिक लगानी कोषहरुले मासिक रुपमा प्रकाशित गरेका वित्तीय विवरणहरुलाई आधार मानेर पनि दोस्रो बजारमा लगानी गर्न सकिन्छ । म्युचुअल फण्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीमा लगानी गरेको हुन्छ भन्ने मान्यताका आधारमा लगानीका लागि यी कम्पनीको छनौट गर्न सकिन्छ ।तर कतिपय सामूहिक लगानीकोषहरुले भने लगानीकर्ताहरुले आधार बनाउने प्रकारको प्रस्तुती दिन सकेका छैनन् ।

क बर्गीकरणका कम्पनी

नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीमध्येबाट पनि कम्पनीको छनौट गर्न सकिन्छ । जसको सुचि नेप्सको वेवसाइटमा पनि हेर्न सकिन्छ । यी कम्पनी कम्तिमा पनि तीन बर्षदेखि नाफामा छन् र नेटवर्थ ऋणात्मक छैन भन्नेमा विश्वस्त हुन सकिन्छ ।

यसैगरि लगानीयोग्य कम्पनीको छनौट गर्दा वाणिज्य बैकले शेयर धितो राखेर ऋण दिनका लागि छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ । सामान्यतया वाणिज्य बैकले शेयर धितो राख्दा वित्तीय रुपमा मजबुत र बजारमा उच्च तरलता भएका कम्पनीको शेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुनसक्छ । बजारमा यसरी गरिने लगानी प्राय एकतर्फि प्रकृतिको हुनेगर्छ । यसबाट खरिद सजिलै गर्न सकिन्छ तर विक्री गर्ने समयको पहिचान गर्न भने सकिदैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।