रिलायन्स लाइफ IPO प्रि अलटमेण्ट : २० हजार ५०९ आवेदकले नपाउने


रिलायन्स लाइफ इन्स्योरेन्सको प्रामिक निष्काशनमा परेको अन्तिम तथ्यांक तयार भएको छ । जस अनुसार रिलायन्स लाइफको शेयर २० हजार ५०९ आवेदकले नपाउने निश्चित भएको छ ।

यस अघि कम्पनीको शेयरमा ६ लाख ९ हजार वटा आवेदन परेको विद्युतीय तथ्यांक आए पनि ५ लाख ८९ हजार ४६४ वटा मात्र आवेदन परेको अन्तिम तथ्यांक तयार भएको छ । जसमा १ हजार ९५५ वटा आवेदनहरु रद्ध भएका छन् । बाँकी ५ लाख ८७ हजार ५०९ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिनमा क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता साधारण शेयर मध्ये ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यो शेयर १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार आवेदकले मात्र पाउछन् ।

बाँडफाँड प्रकृयामा सहभागि गराइने आवेदकको संख्याभन्दा शेयर पाउने आवेदकको संख्या २० हजार ५०९ ले थोरै हो । उल्लेखित आवेदकले १० कित्ता शेयर पनि पाउने छैनन् ।

क्यापिटलका अनुसार कुल निष्काशित शेयर मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता सुरक्षित गरिएको छ । त्यसै गरी कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याइएको छ । सामुहिक लगानी कोष र इन्स्योरेन्सका कर्मचारीलाई ५ प्रतिशतका दरले सुरक्षित गरेर बाँकी रहेको शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो । क्यापिटलका अनुसार ५६ लाख ७० हजार कित्ता शेयरमा आवेदन माग गरिएकोमा कुल २ करोड २९ लाख २६ हजार १० कित्ता शेयर माग भएको हो । इन्स्योरेन्सको शेयरमा ४.०४ गूणा बढी आवेदन परेको हो ।

इन्स्योरेन्सका २२४ जना कर्मचारीले ३ लाख १५ हजार कित्ता शेयरका लागि आवेदन गरेका छन् । त्यसै गरी १९ वटा सामुहिक लगानी कोषहरुले इन्स्योरेन्सको ३ लाख १५ हजार कित्ता शेयर पाएका छन् ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भइसकेको छ । ६३ करोडको आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात गत असारमसान्तसम्म एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन ८७ प्रतिशतले बढेको छ । कम्पनीले सो अवधिमा १७ हजार ८८९ बीमालेख जारी गरेको छ ।

कम्पनीले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २ करोड ९२ लाख १९ हजार खुद नाफा कमाएको थियो । कम्पनीको नाफा ४८.४५ प्रतिशतले वृद्धि भएको हो ।

इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा छ ।

र यो पनि … 

रिलायन्स लाइफको १० कित्ता आईपीओ पाउन पनि भाग्यकै भर !

सबै आवेदकले रिलायन्स लाइफको १० कित्ता शेयर पाउलान् ? आइतबारसम्ममा ५ लाख बढी आवेदन

रिलायन्स लाइफको यस्तो छ तीन वर्षको प्रगति

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।