शनिबार बाँडफाँड हुने भनिएको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड हुने


शनिबार बाँडफाँड गर्ने भनिएको समाज लघुवित्तको शेयर बाँडफाँड पर सरेको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तको शेयर शनिबार बाँडफाँड गर्न स्वीकृति नदिए पछि सोमबार बाँडफाँड हुने भएको हो ।

रिलायन्स लाइफको शेयर शुक्रबाँड गरेको अवस्थामा केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयरमा पर्न सक्ने अधिक चापको अवस्थालाई ध्यानमा राखेर समाजको शेयर बाँडफाँड सारिएको हो ।

शेयर निष्काशनका बेला ५ दिनको अवधिमा समेत आवेदकको अधिक ट्राफिक आउँदा मेरो शेयर डाउन भएको थियो । यो समस्यालाई मध्यनजर गर्दै समाज लघुवित्तको शेयर बाँडफाँडलाई शनिबार गर्न स्वीकृति नदिइएको धितोपत्र बोर्डले जनाएको छ ।

सार्वजनिक विदाको अघिल्लो दिन पारेर दोस्रो बजारको राफसाफ तथा इडिआईएस अवरुद्ध नहोस भनेर शुक्रबार नै रिलायन्स लाइफको शेयर बाँडफाँड गरिएको हो ।

मंगलबार इन्द्रजात्राको अवसरमा उपत्यका विदा भएकाले दोस्रो बजार पनि बन्द हुन्छ । त्यसै कारण शेयर राफसाफमा समस्या नआओस् भन्नका लागि ५ लाखभन्दा बढी आवेदन परेको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड गर्ने भएको हो ।

उता लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भने शनिबार सार्वजनिक विदा परेका कारण शेयर बाँफाँड पर सारिएको जनाएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयरका लागि ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ता शेयर माग गरेका छन् । जुन निष्कासनको १४८.९० गुणा बढी हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा लघुवित्तको शेयर ५ लाख ५८ हजार ४०३ आवेदकले नपाउने निश्चित छ । गोलाप्रथाबाट बाँडफाँड हुने उक्त शेयर भाग्यमानी ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता दरले प्राप्त गर्नेछन् ।

लघुवित्तले १०० अंकित मूल्यका कुल ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। सर्वसाधारणलाई ८० हजार ७०० कित्ता बाँडफाँड हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।