कहिले बन्छ सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन ?

0
Shares

सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ ।

सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको छ । सवस्टेशनका लागि ४ वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आह्वान नहुँदा समस्या उत्पन्न भइरहेको छ ।

सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ । यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र ४ जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए।

अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ ।

त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोभिड कम हुने वित्तिकै डिपीआरका लागि दशैंसम्म कन्सलटेण्ट आउने बताइएको छ ।

प्रदेशलेनै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए । नलगाड जलविद्युत आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ ।

जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ । अन्य ठाउँहरु समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पूरा भएपछि अन्य काम शुरु हुने उनको भनाई छ । दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी प्रसारणलाई सवस्टेशन बनाउन डिपीआरको काम छिट्टै हुने कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिए ।

कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशैँसम्म काम शुरु गर्ने तयारीमा रहेको बताए । जाजरकोटका सात स्थानीय तहलगायत अन्य तीन जिल्लामा विद्युत्को प्रसारण लाइन गाउँगाउँमा पु¥याउन सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ ।

शुरुमा नेपालगञ्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएकोमा अघिल्लो वर्षदेखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगञ्जले सामग्री नदिँदा काममा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो ।

अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत् प्राविधिकरण जाजरकोट प्रसारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।

जाजरकोटको सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिकामा मात्र विद्युतको प्रसारण लाइन पुग्न सकेको छैन । अन्य स्थानीय तहमा लाइन निर्माण गर्ने काम भइरहेको तर कोभिड– १९ का कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिए । प्रदेश कार्यालयले पोल जति माग भएपनि दिन सकिने तर तार भने बमोजिमको दिन नसक्दा जताततै अभाव भएको बताएको छ ।

विद्युत् प्राविधिकरणलाईनै आपूर्ति गर्ने निकायले सामग्री नै कम दिएको बताइएको छ । दुई वर्षभित्र जाजरकोटलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य सिंहले बताए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।