टीएमएसमा समस्या, एक पटक राखेको अर्डर धेरै पटक कारोबार, खातामा नभएको शेयर पनि बेचियो


नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या आए पछि लगानीकर्ता समस्यामा परेका छन् । शेयर ब्रोकरहरुको टीएमएसमा उत्पन्न समस्याका कारण लगानीकर्ताहरु क्लोज आउटमा पर्ने अवस्थामा पुगेका छन् । अनलाइन कारोबार प्रणालीले खातामा नभएको शेयर बिक्री गर्नबाट बञ्चित गर्ने भनिए पनि आइतबार खातामा नभएको शेयर समेत बिक्री भएको भेटिएको छ ।

बजार खुलेको केही बेर पश्चात टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विबरण नदेखाउने तथा डाटा लोड नहने समस्या देखिएको छ । एक पटक राखेको अर्डर धेरै पटक कारोबार भएको देखाउने लगायतका समस्या देखिँदै गर्दा अनलाइन प्रणालीले टीएमएसमा सञ्चित नभएको शेयर समेत बिक्री गराएको छ । जसका कारण क्लोज आउटमा परिने हो वा होइन भन्ने अन्यौलता लगानीकर्तामा देखिएको छ ।

नोटबजारसँग कुरा गर्दै एक लगानीकर्ताले आफुले बेच्न खाजेको एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर तीन पटक बिक्री भएको उनले बताए । ‘आफुले एक पटक राखेको अर्डर सुरुमा अर्डर बुकमा देखाएन, केही बेर पछि तीन पटक कारोबार भएको देखाएको छ । अब मेरो कारोबार क्लोज आउटमा पर्छ कि पर्दैन ?’ ती लगानीकर्ताले जिज्ञासा राखे । उनले उपलब्ध गराएको कारोबार विबरण यस्तो छ ।

उता शेयर ब्रोकरहरुले पनि टीएमएसमा एक्कासी आएको समस्याले आफुहरु नै अन्यौलमा परेको बताए । लगानीकर्ताहरुले ४०० कित्ता शेयर बिक्री गर्न खाजेको भए पनि १ हजार २०० कित्तासम्म बिक्री भएको भन्दै त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न उब्जिएको एक ब्रोकरले नोटबजारलाई बताए । लगानीकर्ताको खातामा नभएको शेयर समेत धमाधम बिक्री हुन थाले पछि अहिले केही ब्रोकरहरुले डिएनएस लग आउट गरेका छन् । ‘लगानीकर्ताको खातामा नभएको शेयर बिक्री नहोस भन्नका लागि केही बेरलाई डिएनएस लगआउट गरिएको हो । नभएको शेयर बिक्री हुनुभन्दा कारोबार नै नहुँदा लगानीकर्ता जोखिममा पर्दैनन्,’ ती ब्रोकरले भने ।

आइतबार अर्डर नराखी भएको कारोबारका सम्बन्धमा नियामक निकायले छानबनि गरी लगानीकर्तालाई अनलाइनप्रतिको विश्वसनीयता बचाउनु पर्ने अर्का एक ब्रोकरको भनाई छ ।

यस सम्बन्धमा बुझ्न खोज्दा नेपाल स्टक एक्सचेञ्ज र वाइको प्रालिसँग सम्पर्क हुन सकेको छैन ।