अनलाइन प्रणालीमा आएको समस्याले फेरि बजार खुल्ने अनिश्चित, खातामा नभएको शेयर कारोबार के होला ?


नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या आए पछि स्थगन गरिएको शेयर कारोबार पुनः सुचारु हुनेमा अन्यौलता देखिएको छ । एकाएक सबै प्रणालीमा आएको समस्या समाधान कति समयमा हुन्छ भन्ने निक्र्यौल गर्न सकिएको छैन । जसका कारण आइतबार पुनः शेयर कारोबार हुने सम्भावना ज्यादै न्युन मात्र रहेको बुझिएको छ ।

सुरुमा शेयर ब्रोकरहरुको टीएमएसमा मात्र समस्या उत्पन्न भएको जस्तो देखिए पनि नेप्सेको अनलाइन प्रणाली नट्समा नै समस्या आएको बुझिएको छ । प्रणालीमा आएको समस्याका कारण पुरै कारोबार प्रणालीलाई बन्द गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अहिले नेप्से र वाइकोका प्राविधिकको टोलीले समस्याको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा नेप्सेको नट्सको म्याच इञ्जिन र ब्रोकरको टीएमएसबीचको सम्पर्क विस्थापीत भएकाले कारोबारमा समस्या आएको हो । यो सम्पर्क मात्र विस्थापीत भएको अवस्थामा केही बेरमा बजार पुन सुचारु हुन सक्ने नेप्सेले जनाएको छ ।

टिएमएसमा समस्या आएपछि शेयर कारोबार स्थगित

नेप्सेको नट्सको म्याच इञ्जिन र ब्रोकरको टीएमएसबीचको कनेक्सन स्थापीत गर्ने प्रयास भईरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नोटबजारलाई बताए । ‘भेण्डर कम्पनी वाईको र नेप्सेले अनलाइन प्रणालीमा आएको समस्याको थप कारण खोजी गरिरहेको छ । केही बेरमा बजार सञ्चालनको सम्बन्धमा निर्णय हुन्छ’ साउदले भने ।’

साविकका दिनमा ११ बजे खुलेको बजार ३ बजे बन्द हुँदै आएको थियो । आइतबार भने कारोबार सुरु भएको केही बेरमा नै कारोबार स्थगन गरिए पनि ३ बज्न लाग्दासम्म बजार खुल्न सकेको छैन । प्रणालीमा उत्पन्न समस्या समाधान भएको खण्डमा ३ बजे पछि भए पनि बजार सुचारु गराउने कि नगराउने भन्ने निर्णय भने अझै भईसकेको छैन । तर विगतमा भने कारोबार समयमा समस्या आउँदा ३ बजे पछि पनि बजार सञ्चालनको अभ्यास भईसकेको छ ।

अनलाइन कारोबार प्रणालीमा आएको समस्याका कारण लगानीकर्ताहरु क्लोज आउटमा पर्ने अवस्थामा पुगेका छन् । अनलाइन कारोबार प्रणालीले खातामा नभएको शेयर बिक्री गर्नबाट बञ्चित गर्ने प्रणालीको विकास गरिएको भनिए पनि आइतबार भने लगानीकर्ताको खातामा नभएको शेयर समेत बिक्री भएको छ । यो समस्याका सम्बन्धमा थप बुझ्ने काम भईरहेको नेप्से प्रमुख साउदले बताए ।

टीएमएसमा समस्या, एक पटक राखेको अर्डर धेरै पटक कारोबार, खातामा नभएको शेयर पनि बेचियो

आइतबार उत्पन्न समस्याले लगानीकर्ताहरुको कारोबारमा के कस्तो समस्या देखियो भन्ने विषयमा जानकारी संकलन गर्ने काम भईरहेको छ । प्रणालीमा आएको समस्याका कारण नै कोही पनि लगानीकर्ता क्लोज आउटमा पर्नु हुन्न, चिन्ता नगर्न आग्रह गर्दछु । यस सम्बन्धमा सबै कुरा बुझेर सोमबारसम्मा नेप्सेले निर्णय गर्छ।

बजार खुलेको केही बेर पश्चात टीएमएसमा डाटा लोड नहुने, अर्डर प्लेस भएको देखाउने तर अर्डर बुकमा कुनै विबरण नदेखाउने तथा डाटा लोड नहने समस्या देखिएको थियो । एक पटक राखेको अर्डर धेरै पटक कारोबार भएको देखाउने लगायतका समस्या देखिँदै गर्दा अनलाइन प्रणालीले टीएमएसमा सञ्चित नभएको शेयर समेत बिक्री गराएको थियो । छ । जसका कारण क्लोज आउटमा परिने हो वा होइन भन्ने अन्यौलता लगानीकर्तामा देखिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।