समाज लघुवित्तको आईपीओ सोमबार दिउँसो बाँडफाँड हुँदै, साढे ५ लाख आवेदकको हात खाली


समाज लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर सोमबार बाँडफाँड हुने भएको छ । केन्द्रीय निक्षेप प्रणालीको मेरो शेयर सफ्टवेयरमा साधारण शेयरको नतिजा हेर्नेको चाप व्यवस्थापन गर्न शनिबारबाट लघुवित्तको शेयर बाँडफाँड सोमबारलाई सारिएको थियो ।

सोमबार मध्यान्ह २ बजे शेयर बाँडफाँड गर्नका लागि धितोपत्र बोर्ड र सिडिएससीलाई पत्राचार गरिएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । पत्रसँगै लघुवित्तको साधारण शेयर प्रि अलटमेण्टको विबरण पनि पठाइएको क्यापिटलले जनाएको छ ।

मंगलबार इन्द्रजात्राको अवसरमा उपत्यका विदा भएकाले दोस्रो बजार पनि बन्द हुन्छ । त्यसै कारण शेयर राफसाफमा समस्या नआओस् भन्नका लागि ५ लाखभन्दा बढी आवेदन परेको समाज लघुवित्तको शेयर सोमबार बाँडफाँड गर्ने भएको हो ।

लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयरका लागि परेको आवेदन मध्ये ५ लाख ४७ हजार तीन सय ७० आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने क्यापिटलले जनाएको छ । जसमध्ये ८ हजार ७० आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने छन् भने योग्य आवेदकमध्ये ५ लाख ३९ हजार ३०० जनाले शेयर पाउने छैनन् ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यको दरले ८६ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । जसमा सामुहिक लगानी कोषका लागि ४ हजार ३०० कित्ता र लघुवित्तका कर्मचारीलाई १ हजार कित्ता शेयर छुट्याएर बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।