पाँचथर पावर नाफामा, बिद्युत बिक्री आय बढेर खर्च घट्दा साढे ८ करोड नाफा आर्जन

0
Shares

पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले गत आर्थिक वर्ष २०७६/७७ मा करिब साढे ८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ ।

अघिल्लो आवमा १२ करोड ६ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले एक वर्षको अवधिमा ८ करोड ४० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.७३ रुपैयाँ छ । कम्पनीको सञ्चित जगेडा नोक्सानी १३ करोड ९७ लाख ३ हजार रुपैयाँ रहेको कारण प्रतिशेयर नेटवर्थ ८५.४९ रुपैयाँ मात्र रहेको छ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय र अन्य आम्दानी समेत बढेको छ भने कर्मचारी खर्च बाहेक अन्य सञ्चालन, फाइनान्न्सियल कस्ट, ह्रासकट्टी समेत घटेको छ। यसले कम्पनीको नाफा वृद्धिमा टेवा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३९ करोड ९२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवको यसै अवधिमा २४ करोड ३४ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको आय १४ करोड ९३ लाख ७७ हजार रुपैयाँ अर्थात ५९.७७ प्रतिशतले बढेको हो ।

नेपाल विद्युत प्राधिकरणबाट १३२ केभिको काबेली विद्युत प्रसारण लाइन सम्पन्न भई आयोजनाबाट उत्पादीत सम्पूर्ण विद्युत केन्द्रीय प्रसारण लाईनमा प्रवाह गर्न सकिएकोले विद्युत बिक्री बापतको आम्दानी बढेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी १८ लाख ८५ हजार, कर्मचारी खर्च ८१ लाख ८५ हजार, अन्य सञ्चालन खर्च १ करोड २४ लाख, फाइनान्न्सियल कस्ट १८ करोड ९२ लाख र ह्रासकट्टी ८ करोड ६१ लाख रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।