आइतबारको क्लोजआउट कारोबार व्यवस्थापन गर्न नेप्सेमा छलफल जारी, केही बेरमा निर्णय हुँदै


नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा समस्या आए पछि उठेको क्लोज आउटको विषयलाई टुङ्गो लगाउन नेप्सेमा छलफल सुरु भएको छ । नेप्सेको कारोबार शाखाले व्यवस्थापनलाई आइतबारको कारोबारको बिस्तृत विबरण बुझाए पछि क्लोज आउटको समस्या समाधान गर्न नेप्से आन्तरिक छलफलमा जुटेको हो ।

नेप्सेका एक अधिकारीका अनुसार केही समय अघि कारोबार शाखाले व्यवस्थापनलाई आइतबार भएको शेयर कारोबारको विबरण बुझाएको हो । उक्त विबरण पाए पछि नेप्से व्यवस्थापन छलफलमा जुटेको र केही समयमा निर्णय गरिने उनले नोटबजारलाई बताए ।

आइतबार नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) को म्याच इञ्जिन र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बीचको सम्पर्क सुस्त बने पछि कारोबार अर्डरको क्यू धेरै हुँदा समस्या आएको थियो । सो समस्याका कारण लगानीकर्ताले शेयर कारोबार गर्नका लागि अर्डर इन्ट्री गर्दा नभए पछि पटक पटक प्रयास गरेका थिए । केही बेर पछि टीएमएसले सबै अर्डर इन्ट्री गराई दिएको थियो । जसका कारण लगानीकर्ताको डिम्याट खातामा नभएको शेयर समेत बिक्री आदेशमा परेको थियो । जसका कारण अधिकांस लगानीकर्ता क्लोज आउटमा परेका थिए ।

लगानीकर्ताको खातामा नभएको शेयर कारोबार भएको अवस्थालाई ध्यानमा राखेर नेप्सेले क्लोज आउटमा पर्न नदिने बुझिएको छ । प्रणालीमा आएको समस्या भएकाले सोही अनुसार लगानीकर्तालाई असहज हुने किसिमको निर्णय नहुने बसझिएको हो ।

सोमबार धेरै लगानीकर्ताको मेरो शेयरमा आइतबारको सबै कारोबारको इडिआईएस देखिन थालिसकेको छ । यो अवस्थामा नेप्सेको निर्णय पछि सिडिएससीले सबै कारोबार व्यवस्थापन गर्ने भएकाले तत्काल इडिआइएस नगरी पर्खिनु पर्ने हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।