बैंक वित्तीय संस्थामा सेवाग्राहीको भीड, संक्रमण जोखिम कति ?


कोरोना संक्रमण नियन्त्राणका लागि निषेधाज्ञा जारी गरिएको भए पनि बैंक वित्तीय संस्थामा पुग्ने सेवाग्राहीले सामाजिक दुरी कायम नगरेको दृष्य राजधानीका विभिन्न स्थानमा देखिएको छ । जसका कारण बैंक वित्तीय संस्थामा पनि संक्रमण जोखिम उच्च हुन सक्ने देखिएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भीड देखिएसँगै संक्रमण जोखिमको प्रश्न उठेको छ । राजधानीका विभिन्न स्थानमा खुलेका बैंक वित्तीय संस्थाका सीमित शाखाहरुमा सेवाग्राहीको भीड देखिएको हो ।

नगरपालिका संघ, स्वास्थ्य मन्त्रालय लगायत क्षेत्रबाट हाल कायम लकडाउनलाई यथावत राख्नु पर्ने सुझाव आईरहेको छ । अर्कातिर राजधानीका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने गृह मन्त्रालयलाई लकडाउन केही खुकुलो बनाउनु पर्ने सुझाव दिएका छन् । लकडाउनका सम्बन्धमा कुनै निर्णय भने भएको छैन ।

लकडाउन लम्बिने वा खुकुलो हुने भन्ने अन्यौलताका बीच सेवाग्राहीहरु भने लाइन लागेर बैंक वित्तीय संस्था पुगेका छन् । नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटीएम महसुल हटाउँदै कुनै पनि बैंकको कार्ड अर्को बैंकमा निशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिसकेको छ । यसका बावजुद पनि सेवाग्राही भने बैंक वित्तीय संस्थामा लाइन लागेका हुन् ।

नयाँ बानेश्वर चोकमा रहेका विभिन्न बैंक वित्तीय संस्थामा सामाजिक दुरी कायम नगरी सेवा लिन भीड लागेका सेवाग्राही ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।