प्रतिनिधिसभा निर्वाचन २०७४ को बाम गठबन्धनको घोषणपत्र तयार गर्दा नै प्रत्यक्ष संलग्न रहेको अर्थमन्त्री युवराज खतिवडाले आर्थिक क्षेत्र सुदृढीकरणका लागि आन्तरिक उत्पादनमा विषेश जोड दिँदै आए ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र डा. खतिवडा बाम गठबन्धको स्पष्ट बहुमत आएपछि राष्ट्रिय सभाको सदस्यमा मनोनीत भई मन्त्रिपरिषद्मा समेत कदम राख्न सफल भए ।
विसं २०७४ फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका खतिवडा २ पटकसम्म अर्थमन्त्री पदमा नियुक्त भए । खतिवडाले शुक्रबारसम्म गरी कूल २ वर्ष ६ महिना ५ दिनमा अर्थ मन्त्रालय चलाए ।
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको २ महिनामा लगत्तै श्वेतपत्र मार्फत अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक सार्वजनिक गरे ।
विसं २०७५ बैशाख २५ गते श्वेतपत्र ल्याएका अर्थमन्त्री डा. खतिवडाले २०७५ जेठ १५ गते पहिलो बजेट ल्याएका हुन् । उनको पहिलो बजेट पपुलिष्ट भनेर आलोचना गरिएपछि प्रसंशाको पनि उत्तिकै ओइरो लागेको थियो ।
बजेट मार्फत उनले वृद्धभत्ता बढाउने, संसद क्षेत्र विकास कोष जारी राख्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता लोकप्रिय कार्यक्रमलाई आत्मसाथ गरे । बजेट मार्फत उनले आन्तरिक उत्पादनलाई विशेष जोड दिएको तथा आयात घटाउने नीति अवलम्बन गरेको स्पष्ट थियो ।
नेपाल राष्ट्र बैंकमा ३० वर्षसम्म सेवा गरेको खतिवडा राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त भएर समेत कार्यभार सम्हाले । त्यसलगत्तै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको श्रीलंका कार्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा तीन वर्ष जागिर खाएर त्यहाँबाट फर्कने वित्तिकै उनी फेरि राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका थिए।
राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुँदाहुँदै उनी नेपाल राष्ट्र बैंकका गभर्नर भए । आर्थिक क्षेत्रमा रहेका सरकारका अधिकांश निकायमा नेतृत्व गरिसकेको खतिवडालाई आफ्नै भाग्यले भने साथ दिएन । प्रधानमन्त्रीको जोडबल र उनको विज्ञताले गर्दा अर्थमन्त्री बनाउने सोच सहित राष्ट्रिय सभा सदस्यमा पु¥याईएका खतिवडाले राष्ट्रिय सभा कार्यकालको ‘लक्कि ड्र’ मा भने पछि परे । राष्ट्रिय सभाको सदस्यको कार्यकाल २ वर्र्ष चिठ्ठा परेपछि उनको भाग्यले निर्धारण गरिदिएको समय सकिएपनि प्रधामन्त्रीको जोडबलले उनी अर्थमन्त्री पदमा भने थप ६ महिना बढी मन्त्री नियुक्त भएर कार्यभार सम्हाले ।
सेक्युरिटी प्रेस प्रकरणबाट गोकुल बाँस्कोटाको राजीनामापछि अर्थ सहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी बोकेका खतिवडाले चालु आर्थिक वर्षको सहित आफ्नो कार्यकालमा ३ वटा बजेट ल्याएका छन्।
तीन बजेट मध्ये सबैभन्दा धेरै आलोचना उनले ल्याएको अन्तिम अर्थात चालु आर्थिक वर्षको बजेटमा खेप्नुप¥यो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अर्थतन्त्र अस्तव्यस्त भएपनि बजेटमा भने महामारीको गर्नुपर्ने आवश्यक सम्बोधनको सन्दर्भमा पनि चुकेको आलेचना भयो ।
त्यति मात्र नभई आर्थिक प्याकेको विषयमा समेत केही नल्याएको भन्दै निजी क्षेत्र समेत यसको चर्को विरोधमा उत्रियो । त्यसपछि निजी क्षेत्र अर्थमन्त्रीलाई भन्दा पनि डाइरेक्ट प्रधामन्त्री नै भेट्न थाले । तर, उनले राष्ट्र बैंकको मौद्रिक नीति मार्फत उद्योगी–व्यवसायीका माग सम्बोधन गर्ने प्रयास गरे ।
डा. खतिवडा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेदेखि वैदेशिक व्यापार असन्तुलनलाई सम्बोधन गर्ने प्रयास गरे । पहिलो वर्षमा उनले विलासी वस्तुहरुको आयात घटाउने उद्देश्यसहित उच्च कर लगाउने निर्णय गरे । त्यसैगरी स्वदेशबाट बाहिर जाने वस्तुहरुलाई विभिन्न सहुलियत दिने नीति लिए । यसले नेपालको वैदेशिक व्यापार सन्तुलनमा मद्दत पनि पु¥याएको अवस्था छ । गत आर्थिक वर्षका प्रत्येक महिनामा नेपालको निर्यात बढ्ने र आयात घट्ने क्रममा रह्यो । महामारीका कारण आयातमा कमी आएको छ । स्वदेशी उद्योगधन्दाको विकास विस्तार नभएकाले आगामी दिनमा आयात बढ्ने अवस्था कायम छ । त्यसका साथै उनले कर्मचारीको भत्ता समेत कटौति गरे ।
खतिवडाले राजस्व प्रणालीमा पुनरसंरचना गर्ने प्रयास गरेका छन् । स्थायी लेखा नम्बर अनिवार्य गर्ने, भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागू गर्ने जस्ता कामहरु कार्यान्वयनमा ल्याउनमा पनि उनको महत्वपुर्ण भुमिका रह्यो । त्यति मात्र होइन विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) जस्ता दातृ निकायहरुलाई विश्वासमा लिन सफल भएका अर्थमन्त्री कारोनाको महामारीले उत्पन्न परिस्थितिबीच आम्दानीका स्रोतहरु सुकेका र अर्थतन्त्र ठप्प नै भएको अवस्थामा बाहिरिएका छन् । अहिलेको असहज परिस्थितिमा आफ्नो विज्ञताको सही प्रयोग गरेर कोरोना संकटको समयमा पनि अर्थतन्त्रलाई जोगाउने भिजन भने प्रस्तुत गर्न नसकेका खतिवडा अर्थतन्त्रको आगामी दिन झनै जटील हुने समयको सुरुवातमा बाहिरिएका छन् ।
अहिले कोरोनाले निजी क्षेत्रको लगानीलाई क्षतविक्षत बनाइदिएको अवस्था छ । यस्तो समयमा उद्योग व्यवसायलाई उकास्नेभन्दा राजस्व संकलनमा मात्रै ध्यान केन्द्रित गरेको हुँदा उनले केही आलोचना पनि खेप्नुपर्यो । बजेटमा विद्युतीय गाडी तथा बिजुलीबाट चल्ने अन्य उपकरणको भन्सार बढाइएको विषयमा अर्थमन्त्री विवादित बने भने केही व्यापारीक समहुको हितमा काम गरेको अरोप पनि झेल्नुपर्यो ।
चालु आर्थिक वर्षको बजेटमा कर बढाउनुअघि सूचना चुहाएको, चलकेट आयातमा लाग्ने भन्सार घटाएको, स्टकलाई सकाउन रक्सीको आयात रोकेको निर्णयले सीमित व्यापारिक समुहलाई संरक्षण गरेको आरोप उनीमाथि छ ।
खतिवडाको अर्को बलियो पक्ष भनेको संघिय व्यवस्थालाई स्थापित गराउनका लागि वित्तीय संघियतालाई स्थापित गराउन भने महत्वपुर्ण भुमिका रहेको छ ।
संघ, प्रदेश र स्थानीय तहको स्रोतको बाँडफाँडदेखि आम्दानीका स्रोतको टुङ्गो लगाउने सन्दर्भमा समेत उनले आफ्नो विज्ञतालाई प्रयोग गरेको देखिन्छ । तर, दोहोरो र चर्को कर प्रणालीको सुरुवात गरेको भनेर आलोचना समेत खोप्नु परेको भने हो ।
त्यसैले समग्रमा अर्थमन्त्रीले साढे २ वर्षको अवधिमा आन्तरिक उत्पादन बढाउने, कर प्रणाली व्यवस्थित, दातृ नियकालाई रिजाउने लगायतको काम गरेका खतिवडाका काम आगामी दिनमा पनि देखिँदै जानेछन् ।
नेपाल राष्ट्र बैंकको गभर्नर भएर निस्केपछि मात्र खतिवडाले प्रशंसा पाउन थालेका थिए । अर्थमन्त्रीको पदमा रहुन्जेल आलोचना खोपेका डा. खतिवडाले पदबाट बाहिरएपछि विस्तारै उनको कामले प्रशंसा बटुल्ने आशा गर्न सकिन्छ ।
आफ्नो पदबाट बाहिरिँदै गर्दा शुक्रबार खतिवडाले अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेर पनि आफुले आफुले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । व्यक्तिगत अभिष्टका लागि कुनै पनि निर्णय नगरेको बताएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुअघि मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको दाबी समेत गरेका छन्।
साथै उनले आफू राष्ट्र निर्माणमा लागि परिरहने र राष्ट्र निर्माणमा वहस पैरवी गरिरहने बताउँदै आफुले राष्ट्रको निम्ति काम गर्दा कोही कसैको व्यक्तिगत जीवनमा असर पुगेको भएपनि त्यो राष्ट्रको लागि भएको काम भन्ने बुझ्न आग्रह गर्दै बाहिरिएका छन् । अर्थमन्त्रीले गरेका काम कति ठिक थिए कति थिएनन् भन्ने कुरा आगामी दिनमा आउने अर्थमन्त्रीले पाउने सफलता वा असफलताले पनि मूल्याङ्कन गर्ने नै छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया