बाह्रै महिना न्यूनतम पूँजीकोष कायम गर्न नसक्ने बैंक वित्तीय संस्थाले लाभांश वितरण गर्न नपाउने

0
Shares

नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात आर्थिक वर्षको बाह्रै महिना कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा तथा वितरण गर्न नपाउने भएका छन्।

केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै न्युनतम पूँजीकोष कायम नगर्ने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुलाई लाभांश घोषणा तथा वितरण गर्न रोक लगाएको हो ।

केन्द्रीय बैंकको निर्देशनमा भनिएको छः “ इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर घोषणा/वितरण गर्न पाईने छैन ।”

केन्द्रीय बैंकका अनुसार प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गराई आन्तरिक लेखापरिक्षकबाट प्रमाणित गराई रिर्पोटिङ्ग पोर्टल मार्फतप्रत्येक महिना समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने व्यवस्था रहेको छ।
यसअनुसार साउनदेखि असारसम्मको १२ वटा महिनाको कुनैपनि महिनामा केन्द्रीय बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न नसक्ने बैंकले नगद वा बोनस कुनैपनि लाभांश वितरण गर्न पाउनेछैनन् ।

यसअघिको व्यवस्थामा भने आर्थिक वर्षको बीचमा पूँजी कोष अनुपात कायम नभएको भएपनि आवको अन्त्यमा बाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा राष्ट्र बैंकको स्वीकृति लिई बोनस शेयर घोषणा/वितरण गर्न बाधा नपर्ने व्यवस्था थियो । तर यसरी बोनस शेयर वितरण गर्दा नगद लाभांश भने कर प्रयोजनका लागि आवश्यक पर्ने रकम मात्र वितरण गर्न स्वीकृति दिने सकिने व्यवस्था रहेको थियो ।

सो व्यवस्थामा कडाई गर्दै केन्द्रीय बैंकले आर्षिक वर्षैभरिका सबै महिनामा तोकिए बमोजिम पूँजीकोष अनुपात कायम गर्ने संस्थालाई मात्र लाभांश (बोनस वा नगद) वितरण गर्नसक्ने नीति लिएको हो ।

यस व्यवस्थाले धेरै कर्जा माग भएको अवस्थामा बीचका महिनामा पूँजीकोष अनुपात कायम नगर्ने र वर्षको अन्त्यतिर पूँजीकोषमा सुधार गर्दै लाभांश वितरण गर्ने गरेका थिए । अब भने बैंक तथा वित्तीय संस्थाहरुले १२ महिना नै तोकिएबमोजिम पूँजीकोष अनुपात कायम गर्नुपर्ने भएको हो।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई न्यूनतम ११ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकलाई १० प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ९ प्रतिशत पूँजीकोष अनुपात तोकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।