एनआरएनको शेयर कर्नरिङले मूल्यमा तीब्र उतार-चढाव, यस्तो छ पूरा विवरण

0
Shares

नेपालको शेयर बजारमा शेयर कर्नरिङ, पम्प एण्ड डम्प, इन्साईडर ट्रेडिङ जस्ता विषयहरुले बेलाबेलामा चर्चा पाउने गरेका छन् । धितोपत्र बजारका नियामक निकायले यस विषयमा अनुगमन तथा नियमन गर्न नसक्दा यस्ता गतिविधिहरु पटक पटक दोहोरिने गरेका छन् ।

गत भदौ १० गतेदेखि शेयर कारोबारमा आएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० दिनको कारोबार अध्ययन गर्दा शेयर कर्नरिङ गरिएको प्रष्ट पाइएको छ । कारोबार खुलेको पहिलो दिनदेखि छैठौं दिनसम्म झण्डै १० प्रतिशतका दरले शेयर मूल्य बढेको यो कम्पनीको त्यसपछिका ४ दिन लगातार १० प्रतिशतकै दरले शेयर मूल्य घटेकाले पनि यो प्रष्ट हुन आँउछ । १० कारोबार दिनको कारोबार विवरणले यो कम्पनीको शेयरमा पम्प एण्ड डम्प को नीति पनि अख्तियार गरेको देखिन्छ । 

कारोबार विवरणहरुले सामान्य लगानीकर्ता भन्दा शेयर कर्नरिङ गर्नेहरु नै बढी फसेको देखिन्छ । उच्च मूल्यमा शेयर किन्नेहरु कर्नरिङ र पम्प एण्ड डम्पमा सक्रियहरु नै हुन् ।

सीमित समूहले शेयर कर्नरिङ गर्दै बजार बढाउँदा त्यसको मारमा सोझासाझ तथा साना लगानीकर्ता परेका छन् । सुरुवाती दिनमा उच्च माग देखाएर बढाइएको उक्त कम्पनीको शेयर कर्नरिङ गरेपछि बजार दोहोरो अंकले बढ्दा पनि घटाएर बिक्री गर्न थालेका छन् ।

यस्तो कृयाकलापलाई पम्प एण्ड डम्प पनि भन्ने गरिएको छ । सकेसम्म मूल्य चढाउने र माथि पुगेपछि एकैपल्ट शेयर बिक्री गरेर नाफा कमाउँने नीति नै शेयर कर्नरिङ गर्नेहरुको हुन्छ । दोस्रो बजारमा पहिलेदेखि नै कारोबार भईरहेका कम्पनीहरुमा पनि यस्तो हुने भए पनि बढी चाँही आईपीओ बिक्री भई भर्खर सूचीकृत भएका शेयरमा यस्तो हुने गर्छ ।

खेलाडीहरुले मार्केट डेप्थमा किन्नेतर्फ धेरै संख्या देखाएर लगातार यस्ता कम्पनीका शेयर मूल्य बढाईरहेका हुन्छन् । मूल्य बढ्छ र कमाई हुन्छ भन्ने भ्रममा सर्वसाधारण सोझा लगानीकर्ताहरुले पनि यस्ता कम्पनीको शेयर किन्न लागिपरेका हुन्छन् ।

म्युचुअल फण्ड र कर्मचारीले नरुचाएको कम्पनी

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ गत साउन २७ गते बाँडफाँड गरिएको हो। जसको शेयर ३ लाख २० हजार ६१४ जनाले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख ६९ हजार ९०२ कित्ता तथा कर्मचारीलाई ६७ हजार ९६१ किता शेयर छुट्याइएको थियो । बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

यो कम्पनीको शेयर पनि अधिकांश म्युचुअल फण्डले खरीद गरेनन् । सानिमा ग्रुप अन्तर्गतको एक र अन्य दुई म्युचुअल फण्डहरुले यो कम्पनीको एक लाख ७० हजार कित्ता शेयर स्वीकार गरेका छन् । अधिकांश म्युचुअल फण्डको रोजाईमा नपरेको यो कम्पनीको शेयरमा कम्पनीकै कर्मचारीले समेत रुचाएनन् । कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री हुन सकेन । सो समेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो।

यस्तो छ १० दिनको कारोबार विवरण

भदौ ९ गते मंगलबार नेप्सेमा सूचीकृत भएको यस कम्पनीको शेयरले प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। र यो कम्पनीको शेयर किनबेच भदौ १० गतेबाट सुरु भएको हो ।

कारोबारको पहिलो दिनमा कम्पनीको ६२ हजार ६३७ कित्ता शेयर प्रतिकित्ता ३०६ रुपैयाँदेखि ३३६ रुपैयाँसम्म कारोबार भयो । कारोबार खुलेको पहिलो दिनमै सामान्य लगानीकर्ताले यो कम्पनीको शेयर बिक्रीमा जोड दिए ।

यस्तै दोस्रो दिन कम्पनीको शेयरमूल्य थप १० प्रतिशत बढेर प्रतिकित्ता ३६९ रुपैयाँसम्म पुग्यो । यो दिन २८ हजार ५५० कित्ता शेयर बिक्री भयो । कम्पनीको हरेक दिन प्रिओपनिङ सेसनमा नै मूल्य बढाउन थालियो । तेस्रो कारोबार दिन १० प्रतिशले बढेर प्रतिकित्ता ४०५ रुपैयाँसम्मा २ लाख ९७ हजार १६२ कित्ता कारोबार भयो । यसैगरी चौथो, पाँचौ र छठौं दिनसम्म १० प्रतिशतका दरले शेयरमूल्य बढाएर कारोबार भएको छ ।

सातौ दिनपनि प्रिओपनिङमा ५ प्रतिशतले मूल्य बढाएर प्रतिकित्ता ५९० कित्ता पुर्याएपछि कम्पनीको शेयर बिक्रीमा चाप पर्यो र निरन्तर मूल्य घटेन थाल्यो । पहिलो, दोस्रो र तेस्रो दिन शेयर किनेकाहरुको डिम्याट खातामा शेयर आएपछि बिक्री चाप बढ्यो र बजार घट्दै गयो ।

कतिपय अल्पकालीन लगानीकर्ताले यसलाई अवसरका रुपमा लिए । तर शेयर कर्नरिङ र पम्प एण्ड डम्पमा लाग्नेहरु शेयर बेच्न हतारिँदा कम्पनीको शेयर मूल्य सातौं, आठौं, नवौं र दशौं कारोबार दिन लगातार दशप्रतिशतका दरले घटेर प्रतिकित्ता ३५४ रुपैयाँमा झरेको छ । बजार विश्लेष्कहरुले यो कम्पनीको मूल्य अझै झर्ने आंकलन गरेका छन् ।

पछिल्लो चार दिनमा मात्रै एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्य लगातार सर्किट मूल्यमा घट्दा २३६ रुपैयाँले घटेको छ । भदौ २१ गते आइतबार प्रतिकित्ता ५९० रुपैयाँसम्म पुगेर कारोबार भएको सो कम्पनीको शेयर भदौ २४ गते बुधबार बजार बन्द हुँदासम्म २१६ रुपैयाँले घटेर ३४४ रुपैयाँमा झरेको हो । यस कम्पनीको शेयरमूल्य निरन्तर करिब १० प्रतिशतले घटिरहेको छ ।

हरेक दिनजसो मार्केट डेप्थमा कम्पनीको नकारात्मक सर्किट मूल्यमा बिक्रेताको चाप उच्च रहेको छ भने खरीदकर्ता शुन्य प्राय छन् ।

कस्तो छ कम्पनीको अवस्था ?

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको कम्पनी हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । जसमा झण्डै ८ सय जनाको लगानी छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।

कम्पनीले माथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (७३ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड पुगेको छ। कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

कुनै साना कम्पनीको प्राथमिक शेयर सूचीकृत भयो कि अनावश्यक माग देखाएर मूल्य बढाउने अनि आफुले शेयर कर्नरिङ गरिसकेपछि उच्च मूल्य पुर्याएर सक्दो बिक्री क्रममा शेयर बजारमा चलिरहेको छ । अहिले त्यसैको मारमा परेका छन् एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ता । अघिल्ला दिनहरुमा बजार ओरालो लाग्दा दैनिक १० प्रतिशतले बढाएको उक्त कम्पनीको शेयर अहिले बजार दोहोरो अंकले बढ्दा पनि दोहोरै अंकले शेयर मूल्य घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।