एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज १८ गते, आइतबार बिहान ११ बजे होटल दिनेश, धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । यसअघि कोरोनाका कारण स्थगित विशेष साधारण सभा पुनः आह्वान भएको हो ।
लघुवित्तले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने लगायतका विशेष प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएको छ ।
यसअघि सम्पन्न कम्पनीको साधारण सभाले एफपीओ जारी गर्ने भनेपनि कति र कुन अनुपातमा जारी गर्ने सम्बन्धमा कुनै निर्णय गरेको थिएन । यो विशेष साधारण सभाबाट कम्पनीले एफपीओ निर्धारण गर्नेछ ।
यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने एजेण्डा राखेको छ । त्यस्तै सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकीकृत कारोबार थालेको थियो। यसअघि लघुवित्तले क्रियटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो ।
संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूजी सहित १३० भन्दा बढी शाखा पुगेको छ । एक लाख सदस्य रहेको संस्थाले सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुनेछ। संस्थाले १ अर्ब पूँजी सहितको राष्ट्रियस्तरको लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया