कर्जा विस्तार नहुँदा बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकमा बुझाउन प्रतिस्पर्धा

0
Shares

कोरोना कहरको असर न्यूनिकरण नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा दुई खर्ब बढी तरलता सृजना भएको छ ।

बैंक तथा वित्तीय संस्थामा अत्याधिक तरलताको अवस्था भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पहिलो पटक डिपोजिट कलेक्सन उपकरणको प्रयोग गरेर बजारबाट ३० अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले बिहीबार ३० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव माग गरेको थियो ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा भएको अधिक तरलतालाई सन्तुलनमा राख्नका लागि ब्याजदर करिडोरलाई सक्रिय गराउँदै ३० अर्ब रुपैयाँ बजारबाट उठाएको हो । राष्ट्र बैंकले ३० अर्बको निक्षेप आह्वान गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले ८२ अर्ब ७० करोड रुपैयाँको आवेदन गरेका थिए ।

राष्ट्र बैंकका अनुसार ३६ वटा बैंक तथा वित्तीय संस्थाले २५७ वटा आवेदन मार्फत राष्ट्र बैंकमा ८२ अर्ब ७० करोड रुपैयाँ बुझाउन तयार भएका थिए । जसका लागि उनीहरुले ०.०६ प्रतिशतदेखि ०.७० प्रतिशतसम्म ब्याजदर कबुल गरेका थिए । औषत ब्याजदर भने ०.४० प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २८ दिनका लागि ०.४० प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप संकलन गरेको हो। यो रकमको साँवा तथा ब्याज भुक्तानी कात्तिक ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोरको तल्लो सीमा १ प्रतिशत र माथिल्लो सीमा ५ प्रतिशत कायम छ। अहिले अल्पकालीन ब्याजदर एक प्रतिशतभन्दा निकै तल छ।

कोरोना भाइरसको असरका कारण आर्थिक गतीविधिमा आएको सुस्तताले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको हो ।बैंकहरुले निक्षेप लिइरहेको अवस्था छ भने कर्जा लगानी गर्न नसकेको हुनाले पनि अधिक तरलता भएको हो । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले ब्याजदर घटाएको भएपनि निक्षेप बढ्ने तथा कर्जाको माग नभएका कारण बैंकहरुमा पैसा थुप्रिने अवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।