उद्योग वाणिज्य महासंघको सधारण सभा तथा निर्वाचन गर्न सरकारको अनुमति


२ पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा गर्नका लागि सरकारले स्वीकृति दिएको छ । महासंघले गरेको निर्णय अनुसार आगामी मंसिर ११ र १२ गते साधारण सभा तथा निर्वाचन गर्नका लागि गृह मन्त्रालयले महासंघलाई स्वीकृति दिएको हो ।

गृह मन्त्रालयले पत्र काट्दै उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको हो । महासंघ अध्यक्ष भवानी राणाले महासंघको साधारणसभा एवं निर्वाचन सम्पन्न गर्नका दागि गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भएको बताइन् ।

गृह मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनका दौरान एक पटकमा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित नहुने शर्तमा साधारण सभाका लागि स्वीकृति दिएको हो । स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी गर्न अनुमति दिइएको पत्रमा उल्लेख छ ।

स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै विभिन्न स्थानमा निर्वाचन गराउने तयारी महासंघले थालेको छ ।

महासंघले आगामी मंसिर ११ र १२ गते साधारणसभा एवं नयाँ कार्यसमिति चयन गर्न निर्वाचनका लागि गृह मन्त्रालयसँग स्वीकृति मागेको थियो । जवाफमा मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

गत चैत २६ गते नै सम्पन्न हुनु पर्ने साधारण सभा कोभिडका कारण असार २६ र २७ मा समेत हुन सकेको थिएन ।