बैंक तथा वित्तीय संस्थाका ग्राहकका गुनासाहरु व्यवस्थीत रुपमा सम्बोधन गरिने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका गुनासाहरु व्यवस्थीत रुपमा सम्बोधन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक वित्तीय संस्था तथा ग्राहकबीचका गुनासा सम्बोधन गर्नका लागि वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ लागू गरेको हो ।

केन्द्रीय बैंकले लागु गरेको कार्यविधि अनुसार ग्राहकका गुनासा सुनुवाइ तथा सम्बोधन गर्नका लागि इकाइ र समिति हुने व्यवस्था छ । ग्राहकले विस्तृत विवरण सहित नेपाल राष्ट्र बैंकको वित्तीय गुनासो सुनुवाइ इकाइमा निवेदन दिएको खण्डमा समाधान गरिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार वित्तीय सेवा प्रदायकले प्रचलित कानून तथा राष्ट्र बैंकबाट जारी निर्देशनको प्रतिकूल हुने गरी सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग वा बेवास्ता गरी वा गैर जिम्मेवार कार्य गरी आर्थिक वा गैर–आर्थिक वा दुवै प्रकारको हानी पुग्ने कार्य गरे वा गराएको वा झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन/दिन असहयोग गरेमा वा प्रचलित कानून, नियम, निर्देशनको परिधि भन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा इकाईमा गुनासो निवेदन पेश गर्न सकिनेछ ।

गुनासो निवेदनकर्ताले पुरा नाम, सम्पर्क ठेगाना, मोबाइल नम्बर, इमेल ठेगाना, गुनासो रहेको वित्तीय सेवा प्रदायकको नाम, ठेगाना र कारोबारको प्रकार, आर्थिक तथा गैर आर्थिक हानी नोक्सानीको विस्तृत विवरण, गुनासो सम्बन्धमा अदालत वा अन्य निकायमा उजुरी गरे/नगरेको विवरण र त्यस्तो उजुरी गरेको भए निर्णय तथा कारवाहीको अवस्था र गुनासोसँग सम्बन्धित अन्य तथ्य सहितका आवश्यक कागजात सहित निवेदन दिन सक्ने व्यवस्था छ ।

वित्तीय ग्राहक संरक्षण इकाई केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग अन्र्तगत रहने व्यवस्था कार्यविधिमा उल्लेख छ । यस इकाईमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकले आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन गर्नेछन् । इकाईको नेतृत्व गुनासो व्यवस्थापन समितीको सदस्य सचिवको रुपमा काम गर्ने बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशकले गर्नेछ ।

इकाइले गुनासो प्राप्त गर्न निश्चित फोन नं., इमेल वा पोर्टलको व्यवस्था गर्ने कार्याविधिमा उल्लेख छ । कुनै पनि माध्यमबाट इकाईमा प्राप्त भएका गुनासोको लगत राख्ने, गुनासो निवेदकसँग गुनासो सम्बन्धी सम्पुर्ण विवरण लिखित रुपमा माग गर्ने तथा सम्बन्धित विषयमा परामर्श गर्ने/गराउने समेतको काम गर्नेछ ।

कार्यविधि अनुसार प्राप्त भएको गुनासो निवेदनको सम्बन्धमा सम्बन्धित वित्तीय सेवा प्रदायकसँग आवश्यक कागजात तथा लिखित जानकारी वा जवाफ माग गर्ने, वित्तीय सेवा प्रदायकबाट प्राप्त जानकारी/जवाफ गुनासो निवेदकलाई जानकारी गराई गुनासो समाधान हुने नहुने एकिन गर्ने व्यवस्था रहेको छ । त्यसैगरी इकाइले गुनासोकर्ता तथा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई आवश्यक छलफल परामर्शका लागि बैंकमा बोलाई छलफल गरी समस्या समाधानको पहल गर्ने र सो को लगत राख्ने समेतको काम गर्नेछ ।

इकाईबाट समाधान हुन नसकेका गुनासो समाधानका लागि गुनासो व्यवस्थापन समिति रहने व्यवस्था छ । सो समितिमा डेपुटी गभर्नर (बरिष्ठ), डेपुटी गभर्नर, राष्ट्र बैंकका २ कार्यकारी निर्देशक, अर्थ मन्त्रालयका सह–सचिव, अर्थ मन्त्रालय, अध्यक्ष, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक सदस्य सचिव रहने गरी समिति गठन हुने व्यवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।