आईपीओमा नयाँ रेकर्ड, जनरल इन्स्योरेन्समा ८ लाख बढीले गरे आवेदन


कोरोना संक्रमणका कारण फुर्सदिला बनेका आम नागरिकको आकर्षण शेयर बजारमा देखिएको छ । यस क्रममा प्राथमिक बजारमा शेयर आवेदन गर्नेहरुको संख्या अहिलेसम्मकै उच्च संख्या कायम भएको छ ।

जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयर निष्काशन बन्द भएको दिन साँझसम्ममा ८ लाख १४ हजार १३० जनाले शेयर आवेदन गरेका छन् ।

बैंकहरुमा आस्वाबाट परेको आवेदन अझै प्रविष्ट भईसकेको छैन । त्यस्तो आवेदन प्रविष्ट भएपछि कुल आवेदकको संख्या अझै बढ्न सक्ने केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नोटबजारलाई जानकारी दिए ।

न्यौपानेका अनुसार अहिलेसम्म आईपीओमा परेको आवेदनको तथ्यांकका आधारमा जनरल इन्स्योरेन्सको आईपीओ आवेदन सबैभन्दा धेरै हो । उनका अनुसार ८ लाख १४ हजार १३० आवेदकले इन्स्योरेन्सको २ करोड २५ लाख ८० हजार १० कित्ता शेयर माग गरेका छन् । यो सर्वसाधारणबाट माग गरिएको भन्दा ८.२८ गुणा बढी हो ।

हालसम्म एउटा आईपीओमा अधिकतम ६ लाख १४ हजार वटासम्म मात्र आवेदन परेको थियो । यसअघि शेयर जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्समा सर्वाधिक आईपीओ आवेदन भएर रेकर्ड कायम भएकोमा लगत्तै जनरल इन्स्योरेन्सले रेकर्ड तोडेको हो ।

उल्लेखित आवेदन संख्या र माग भएको शेयर संख्याको औसत हेर्दा एक आवेदकले २७.७३ कित्ताको दरले शेयर माग गरेको देखिन्छ । १० कित्ता मात्र आवेदन गर्दा हुने अवस्थाका बिचमा अझै लगानीकर्ताले धेरै शेयर माग गर्ने गरेको देखिएको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गरेकोमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता शेयर छुट्टाएर बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

जनरल इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रमाणपत्र प्राप्त गरेको छ।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।