जनरल इन्स्योरेन्सको आईपीओ साढे ५ लाख आवेदकले नपाउने

0
Shares

जनरल इन्स्योरेन्स (GIC) को आईपीओमा आवेदन गरेका साढे ५ लाख आवेदकले शेयर नपाउने भएका छन्। कम्पनीले जारी गरेको आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम हुँदा उच्च संख्याका आवेदकले शेयर नपाउने देखिएको हो ।

केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले नोटबजारलाई दिएको जानकारी अनुसार कम्पनीको आईपीओमा ८ लाख २० हजार ४०० बढीले आवेदन गरेका छन् । यसअनुसार कम्पनीको आईपीओ ५ लाख ४७ हजार ४०० बढीले शेयर नपाउने तथ्याङ्क आएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पार्नेछन् ।

सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको आईपीओमा मागको ८.२९ गुणा बढीको माग भएको छ । कम्पनीले २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन माग गरेकोमा २ करोड २६ लाख ३५ हजार ९०० कित्ताको आवेदन परेको हो ।

यसअघि शेयर जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्समा सर्वाधिक ६ लाख १४ हजार वटा आवेदन भएर रेकर्ड कायम भएको थियो। सो रेकर्ड जनरल इन्स्योरेन्सले तोडेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गरेकोमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता शेयर छुट्टाएर बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

जनरल इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रमाणपत्र प्राप्त गरेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।