माछापुच्छ्रे बैंक २१ औँ वर्षमा प्रवेश, आधा दर्जन स्मार्ट सेवा तथा योजनाहरु एकैसाथ संचालनमा

0
Shares

माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।

ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकै साथ संचालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटक व्ही च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ ।

बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहकले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विशेष काउन्टर पनि संचालनमा ल्याउने जानकारी गराएको छ ।  त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको जनाएको छ ।

स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन समेत गरी जम्मा २९८ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाट घोषणा गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कात्तिक ६ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दिमा बाइसौँ साधारण सभा आह्वान गरेको छ ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते शेयर दाखिल खारेजको दर्ता बन्द गर्ने भएको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा सभामा सहभागि हुन पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।