बैंकहरुमा कर्जाको माग आउन थाल्यो, असोजको ३ सातामा ४२ अर्ब प्रवाह

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । चाडपर्व नजिकिएसँगै विदेशबाट आउने रेमिटयान्स बड्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको छ भने कर्जा विस्तारमा सुधार आएको छ ।

चालु आर्थिक वर्षको असोज महिनाको तीन सातामै बैंकहरुमा ६४ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले ४२ अर्ब कर्जा विस्तार गरेका छन ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा गरेको निषेधाज्ञाका हटेपछि कर्जा प्रवाहमा समेत सुधार आएको हो । गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।

उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको बेला बैंकहरुबाट कर्जा विस्तारकोक्रम बढेको हो ।

गत असार मसान्तसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । चालु आर्थिक वर्ष सुरु भएयता असोज १६ गते शुक्रबारसम्म बैंकहरुले २९ खर्ब ४६ अर्ब कर्जा विस्तार गरेका छन भने यसअवधिमा ३५ खर्ब ५९ अर्ब निक्षेप संकलन गरेका छन । साउन यता ४३ अर्ब कर्जा विस्तार हुँदा ७२ अर्ब निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थावाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

लकडाउनको अवधिमा आर्थिक कारोबार ठप्प सरह रह्यो । बैंकहरुले पनि लगानी गर्ने अवस्था नहुँदा २ अर्बसम्मको अधिक तरलता भएको अवस्था थियो । वित्तीय प्रणालीमा अहिले पनि करिब पौने दुई खर्बभन्दा धेरै अधिक तरलता रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।