सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा नयाँ रेकर्ड कायम भएको छ । यस अघि जनरल इन्स्योरेन्सले नयाँ रेकर्ड बनाएकोमा सानिमा जनरलमा त्योभन्दा धेरै शेयर आवेदन परेको हो ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार शेयर निष्काशन बन्द हुँदासम्म ८ लाख ८३ हजार ८४३ वटा आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्मको यो तथ्यांक प्रारम्भिक हो । मेरो शेयर बाहेक आस्वा आवेदन इन्ट्री हुने क्रम चलिरहेकाले यो संख्यामा अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
आइतबार साँझसम्ममा उल्लेखित आवेदकबाट १ अर्ब ९० करोड १५ लाख ९८ हजार रुपैंया बराबरको १ करोड ९० लाख १५ हजार ९८० कित्ता शेयर माग भएको छ । यो निष्काशन भएको शेयरभन्दा ६.९७ गूणा बढी हो ।
गत शुक्रबार साँझसम्ममा सानिमा जनरलको आईपिओमा ७ लाख ४४ हजार ४९१ वटा आवेदन परेको थियो ।
इन्स्योरेन्सले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शेयर गोलाप्रथाद्वारा दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले मात्र पाउनेछन् । माथि उल्लेखित आवेदनका अधारमा ३१ प्रतिशत आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउने छन् ।
इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया