स्वाबलम्बन लघुवित्तको २६ प्रतिशत बोनस साधारण सभाको ९ महिना पछि सूचीकृत


स्वावलम्बन लघुवित्तले साधारण सभा गरेको ९ महिनाभन्दा धेरै समय पछि बोनस शेयर सूचीकरण गराएको छ । गैर सरकारी संस्थाहरुको लगानी नहटेसम्म पूजी बिस्तारमा उत्पन्न अवरोधका कारण स्वालम्बन सहति धेरै लघुवित्त कम्पनीहरुको बोनस शेयर सूचीकरणमा ढिलाई भईरहेको छ ।

स्वाबलम्बन लघुवित्तको हकमा पनि स्वालम्बन विकास केन्द्र नामक गैरसरकारी संस्थाको लगानी व्यवस्थापन नहुञ्जेल कम्पनी रजिष्ट्रारको कार्यालयले पूँजी वृद्धिको प्रावधानमा संसेधन गर्न दिएको थिएन । जसका कारण साधारण सभा सम्पन्न भएको लामो समयसम्म पनि लघुवित्तले पुस २० गतेको साधारण सभाबाट पारित भएको बोनस शेयर दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा सूचीकरण गराउन सकेको थिएन । 

बोनस प्रस्ताव गर्ने समयमा समेत गैर सरकारी संस्थाको लगानी हटाउनु पर्ने विषयलाई लिएर शेयर कारोबार नै रोक्का भएको थियो ।

सबै विषय मिले पछि कम्पनी रजिष्ट्रारको कार्यालयले पूँजी वृद्धिको व्यवस्थामा स्वीकृति दिए पछि लघुवित्तको प्रबन्ध पत्र र नियमावली संसोधन भएको छ । उक्त संसोधन पश्चात लघुवित्तको बोनस शेयर सूचीकरण भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार स्वाबलम्बन लघुवित्तको हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत अर्थात १६ करोड ३५ लाख १० हजार ९८४ रुपैंया बराबरको १६ लाख ३५ हजार १०९ दशमलव ८४ कित्ता शेयर सूचीकरण भएको हो ।

सूचीकरण भएको बोनस शेयरका लागि २०७६ पुस १ गते शेयरधनी दर्ता पुस्तिका बन्द भएको थियो । उक्त दिनभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले केही दिनमा उक्त बोनस शेयर पाउने छन् ।

२६ प्रतिशत बोनस बितरणसँगै लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैंयाबाट बढेर ७९ करोड २३ लाख रुपैंया पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।