सानिमा जनरल इन्स्योरेन्सको आईपीओ केही बेरमा बाँडफाँड हुँदै


सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर केही बेरमा बाँडफाँड हुँदैछ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा बबरमहल काठमाण्डौंमा बाँडफाँड हुँदैछ ।

आईपीओ बाँडफाँडका लागि क्यापिटलले प्रि अलटमेन्ट गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिइसकेको छ ।

इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ६९ जनाले शेयर नपाउने अवस्था देखिएको छ । १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र शेयर पाउने भएका हुन् । आईपीओमा ८ लाख ८३ हजार ६२४ जनाले आवेदन गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउने छन् । बाँकी ६ लाख १० हजार ६२४ जनाको हात भने खाली हुने देखिन्छ ।

कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ता शेयर माग भएको थियो ।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम हुनेछ ।

इन्स्योरेन्सको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।