नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको निधन

0
Shares

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको आज बिहान असामायिक निधन भएको छ ।

श्रेष्ठका मित्र तथा बोर्डका अर्का पूर्व अध्यक्ष सुरविर पौड्यालले पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको शनिबार बिहान असामायिक निधन भएको जानकारी दिए ।

पौड्यालले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

श्रेष्ठ २०६८ असोज ३० गतेदेखि २०७२ असोज २९ गतेसम्म बोर्डको नेतृत्वमा रहेका थिए । उनको कार्यकालमा पूँजीबजार विकासमा समेत धेरै कामहरु भएका थिए ।

बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठको पालामा नै केन्द्रीय निक्षेप प्रणालीको दर्ता भएर भर्खरै कार्य प्रारम्भ गरेकोमा त्यसले गति लिएको थियो। कागजी प्रणालीम्बाट गरिँदै आएको धितोपत्र कारोबाारको राफसाफ तथा नामसारी प्रकृया विद्युतीय प्रणाली मार्फत हुने व्यवस्थाले मूर्त रुप लिएको थियो । उनको पालामा बोर्डबाट नियमित बजार सुपरिवेक्षणका कामहरु समेत भए । यहि समयमा समूहिक लगानी कोष सम्बन्धी नियमावली २०६७ लागू भएपछि सामूहिक लगानी कोष सञ्चालनका लागि आवेदन परेर सुरुवात भएको थियो। जसले सानो पूँजी भएका लगानीकर्ताहरुलाई म्युचुअल फण्डको इकाईमा लगानीको अवसर प्राप्त भएको थियो ।

हालका ऊर्जामन्त्री वर्षमान पुन अर्थमन्त्री र कृष्णहरि बाँस्कोटा अर्थ सचिव रहेको बेला (विसं २०६८ देखि २०७२ सम्म) श्रेष्ठले अध्यक्षका लागि खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका १२ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाउँदै चार वर्ष बोर्डको नेतृत्व गरेका थिए ।

श्रेष्ठले पूँजीबजारको विकासका लागि जति गर्नुपथ्यो त्यति नगरेको आरोप पनि उनीमाथि लाग्ने गरेको थियो । यस्तै समाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गैरसरकारी संस्था साउथ एसियन पार्टनरसिप (साप) नेपालको कार्यकारी रहेको बखत सूचना नदिएको भन्दै श्रेष्ठलाई राष्ट्रिय सूचना आयोगले २०७० भदौमा दुई हजार रुपैयाँ जरिवाना समेत गरेको थियो।

उनी साप नेपालको अध्यक्ष हुँदा भएको निर्णयको सूचना माग गर्दै आयोगमा निवेदन दिदा पनि सूचना दिन अटेर गरेपछि उनी कारवाहीमा परेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ कात्तिक २०७७, शनिबार  १३ : ३६ बजे