दशैँमा खसीबोका तथा च्याङग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि नल्याउने निर्णय गरेको हो ।
बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङग्राको बिक्रीवितरण गर्दै आएको थियो । यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन ।
“बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ ”, उनले भनिन । कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ ।
कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।
मूल्य निर्धारण भने गरिएको छैन । सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया