दशैंपछि भुक्तानी गर्दा हुने भएपछि लगानीकर्ताले शेयर खरीद गर्न थाले

0
Shares

दशैंका लागि खर्च जोहो गर्न शेयर बेचेका लगानीकर्ता अब भने शेयर खरीदतर्फ लागेका छन् । शेयर बजारमा कारोबारको भएको रकम कारोबारको तेस्रो दिनसम्ममा अर्थात टि प्लस थ्री मा राफसाफ गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसअनुसार शुक्रबार देखि नै दशैंको विदा सुरु हुने भएकाले मंगलबार शेयर खरीद गरेका लगानीकर्ताले दशैं मानेर रकम तिर्दा हुने भएकाले पनि कारोबार रकम बढेको हो । अर्कोतर्फ अहिले लाभांश सिजन पनि रहेको छ । नेप्सेको टिकाउपूर्ण अवस्था र बैंकिङ्ग प्रणालीमा बचतको घट्दो ब्याजदरले अझै शेयर बजार बढ्ने लगानीकर्ताको अनुमान रहेको छ ।

बैंक ब्याजभन्दा सूचीकृत कम्पनीहरुले दिने लाभांश बढी हुने भएपछि बैंकिङ्ग क्षेत्रमा राख्ने गरिएको रकम समेत शेयर बजारमा आउने अनुमान छ । हालसम्म माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सानिमा, सिटिजन्स गरी ४ वाणिज्य बैंक सहित सूचीकृत र केही सूचीकृत नभएका गरी कूल ३७ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

दशैंपछि अन्य कम्पनीहरुको पनि धमाधम लाभांश घोषणा हुने हुँदा लगानीकर्ताको लगानीको पहिलो रोजाइ हाल शेयर बजार रहेकाले पनि नेप्से केही अंकको करेक्शनपछि फेरि बढिरहेको अवस्था छ । यसले पनि लगानीकर्तालाई लगानी गर्ने मनोबलमा बढोत्तरी आएको छ ।

अघिल्लो साता र यस साताको पहिलो कारोबार दिन खर्च निकाल्ने क्रम बढ्दा नेप्सेमा सूचक दबाबमा रहेकोमा अब भने लगानीकर्ताहरु बजारमा लगानी बढाउन थालेका छन् । जसले अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि ३० करोड रुपैयाँले बढेको छ ।

मंगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक तथा ६ वटा उपसमूहको सूचक १ प्रतिशत धेरैले उकालो लाग्दा नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज कारोबारमा आएका जलविद्युत उपसमूहको सबैभन्दा २.०२ प्रतिशतले बढेको छ भने विकास बैंक, वित्त, अन्य र म्युचुअल फण्डको सूचक पनि १ प्रतिशतले बढेको छ ।

आज नेप्से सूचक ०.८४ प्रतिशत अर्थात १३.२२ अंकले बढेर १ हजार ५८३ दशमलव ६० अंकमा बन्द भएको छ । आज १९३ कम्पनीका ५० लाख २५ हजार ४० कित्ता शेयर १८ हजार ८७० कित्ता शेयर खरीद बिक्री हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजारको कारोबार भएको छ ।

  • चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज कारोबारमा आएका कम्पनीमध्ये जनरल इन्स्योरेन्स, माउन्टेन हाइड्रोपावर, हिमाल दोलखा र जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेर साकारात्मक सर्किट लागेको छ ।

यसैगरी अपि पावर, घलेम्दी हाइड्रोपावर, कालिका पावर, आँखुखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र ङादी हाइड्रोपावर आजको बजारमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् । यी कम्पनीहरुको पनि ६ प्रतिशत धेरैले शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-10-20 14:58:01
GIC 488.00 44.00 9.91
MHNL 193.00 17.00 9.66
HDHPC 137.00 12.00 9.60
JOSHI 128.00 11.00 9.40
API 220.00 15.00 7.32
KPCL 189.00 12.00 6.78
AKJCL 129.00 8.00 6.61
GHL 132.00 8.00 6.45
CHL 170.00 10.00 6.25
NGPL 205.00 12.00 6.22

उता नेपाल फाइनान्स, रिलायन्स लाइफ, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरको साढे १ प्रतिशत बढीले घटेको छ ।

  • अरुण काबेली पावरको उच्च कारोबार

मंगलबार अरुण काबेली पावरको उच्च कारोबार भएको छ । कम्पनीको ८ करोड ८२ लाख ९२ हजार रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।

यस्तै अपि पावरको ७ करोड ६५ लाख, एचआईडिसीएलको ५ करोड ९९ लाख, नागरिक लगानी कोषको ३ करोड ९९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ४३ लाख, शिखर इन्स्योरेन्सको २ करोड ७१ लाख, कुमारी बैंकको २ करोड ५९ लाख, एभरेष्ट बैंकको २ करोड ३४ लाख, नेशनल हाइड्रोपावरको २ करोड ३१ लाख र नेपाल रि इन्स्योरेन्सको २ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover LTP
As of 2020-10-20 14:58:01
AKPL 88,292,900.00 266.00
API 76,519,725.00 220.00
HIDCL 59,799,407.00 198.00
CIT 39,996,402.00 3,617.00
HDHPC 34,315,461.00 137.00
SICL 27,101,797.00 1,342.00
KBL 25,336,468.00 227.00
EBL 22,942,972.00 705.00
NHPC 22,857,786.00 116.00
NRIC 21,321,712.00 856.00

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।