बैंकमा निक्षेप जम्मा गराउने बानी बसाल्ने अभियानमा नबिल बैंक, निक्षेपमा किन धेरै दिँदैछ व्याज ?

0
Shares

बैंकिङको पहुँच र खाता प्रयोगकर्ताको संख्या धेरै देखाउने गरेका तथ्यांकहरुले वास्तविक बैंकका सेवाग्राहीको आँकडालाई अझै चित्रित गर्न सकिरहेको छैन । अझ दुर्गम क्षेत्रमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका नागरिकको संख्या नगण्य छ । यो अवस्थामा बैंकमा रकम जम्मा गर्दै नियमित रुपमा दैनिकी चलाउने अनि साना तथा मझौला व्यवसाय सञ्चालन गर्नेहरुको संख्या ज्यादै न्युन छ । जबकी साना तथा मझौला अनि स्वरोजगारी व्यवसायीको संख्या धेरै छ ।

बैंकिङ्ग प्रणालीमा आबद्ध हुन नसकेका यस्ता व्यक्तिलाई प्रणालीमा जोड्दै आम नागरिकमा बैंकिङ्ग पहुँच र निक्षेपको महत्व दर्शाउने अभियानमा नबिल बैंकले विभिन्न किसिमका योजना अघि सारेको छ । बैंकका लागि आवश्यक पर्ने कच्चा पदार्थ अर्थात निक्षेप संकलन गर्दै निक्षेपको महत्व बुझाउने अभियानमा नबिलले सक्रियता देखाएको हो ।

बैंकिङ्ग पहुँच भित्र रहेका मानिसले दैनिक कारोबारका दौरान बैंक खाता प्रयोग गर्ने गर्दछन् । उक्त खातामा उनीहरुको आम्दानीलाई पनि ‘च्यानलाइज’ गरिएको हुन्छ । जसलाई बचत खाताको रुपमा पनि बुझ्न सकिन्छ । यस्तो बचतमा सहभागिता जनाउने सेवाग्राहीको संख्या सीमित छ । बैंक खाता भएर पनि बचत नगर्नेहरुका साथै बैंकिङ्ग पहुँच बाहिर रहेकाहरुलाई समेत बैकिङ्ग सेवाको पहुँचमा ल्याउन यस्तो अभियानलाई नबिल बैंकले तिब्रता दिएको हो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थागत निक्षेपमा सीमा तोकिएको भए पनि व्यक्तिगत निक्षेपको सन्दर्भमा कुनै सीमा लगाइएको छैन । सर्वसाधारणबाट जति धेरै निक्षेप लिन सक्यो त्यो नै बैंकको लागि कच्चा पर्दाथ हो । र यसले सर्वसाधारणमा पनि प्रभावकारी असर पुर्याउन सहयोग गर्छ ।

बैंकको पाटोबाट हेर्ने हो भने यसरी आउने निक्षेप केही सस्तो पर्ने भए पनि आम जनतासँग नियमित सम्पर्कमा रहेर काम गर्नुपर्ने हुन्छ । जसको उद्धेश्य बैंकको कच्चा पदार्थ जुटाउने मात्र नभई सर्वसाधारणलाई त्यसको उचित प्रतिफल दिलाउने पनि हुन्छ ।

यसका लागि बैंकले कर्जा परिचालन पनि उत्तिकै गर्नुपर्ने हुन्छ । सर्वसाधारणबाट थोरै थोरै रकमको आधारमा संकलन भएको निक्षेपबाट बैंक वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहज हुन्छ । यसले बैंकको दिर्घकालिन फाइदाका लागि काम गर्न सक्ने अवस्था पनि बन्छ ।

बजारमा धेरै संस्थाका धेरै किसिमका निक्षेप योजनाहरु सञ्चालनमा छन । यस्तो अवस्थामा हामीले निक्षेप योजना ल्याउँदा सर्वसाधारणका समस्याहरुसँग परिचित भएर ल्याउने प्रयास गरेका छौंं । व्यक्तिहरुका विभिन्न किसिमका समस्याहरुलाई अध्ययन गरेर बचत खाताको ‘डिजाइन’ गरिन्छ । सोही अनुसार हामीले ‘नबिल जेन एन अकाउन्ट’ योजना ल्याएका छौं । यसको उद्देश्य भनेको ‘मेन्टल यूथ’, जो पछिल्लो प्रविधिको विषयमा अभ्यस्त छ, उसलाई बैंकिङ्ग प्रणालीमा आबद्ध गराउने हो ।

यो खाता खोल्नका लागि ग्राहक बैंकसम्म आउनु पर्दैन । नबिल बैंकमा यो खाता खोल्न चाहेको व्यक्तिले अनलाइन मार्फत नै खाता खोलेर प्रविधिमा आधारित बैंकिङ्ग कारोबार गर्न सक्छ ।

यो योजनामा बैंकले २ जिबिको डाटा प्याक पनि निशुल्क उपलब्ध गराउने छ । डिजिटल माध्यममा काम गर्नुपर्ने भएकाले डाटाको लागतमा सेवाग्राहीको थप खर्च नहोस् भन्नका लागि हामीले यस्तो योजना ल्याएका हौं । यो योजनाको मुख्य उद्धेश्य भनेको धेरैभन्दा धेरै व्यक्तिलाई ‘बैंकिङ्ग च्यानल’ मा आबद्ध गर्दै निक्षेप गर्ने बानीको विकास गराउनु हो ।

अहिले यो योजना अन्तरगत बैंक खाता खोल्नेहरुको संख्या तिब्र दरमा बढेको छ । अनलाइनबाट खाता खालेर सञ्चालनमा आईसकेपछि कुनै बेला एक पटक आफुलाई पायक पर्ने शाखामा उपस्थित भएर प्रमाणीकरण गरिदिनु पर्छ । हामी कहाँ विद्युतीय माध्यमबाट मात्र पूर्ण रुपमा बैंक खाता सञ्चालन गर्ने गराउने कानुनी व्यवस्था नभएकाले कुनै न कुनै समयमा सेवाग्राही एक पटक बैंकमा पुग्नुपर्ने भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित नियकाले विदेशमा रहेका नेपालीले नेपालमा पैसा पठाउनका लागि प्रयोग गर्ने अनौपचारिक माध्यमलाई निरुत्साहित गरेर ‘बैंकिङ्ग च्यानल’ प्रयोग गर्ने व्यवस्था गर्न सकेको खण्डमा यसले समग्र अर्थतन्त्रमा नै योगदान गर्ने अवस्था रहन्छ । यसले बैंकिङ्ग प्रणालीलाई सबल बनाउँछ भने व्यक्तिगत निक्षेपको दायरा पनि विस्तार गर्छ । पूर्ण रुपमा अनलाइनमा आधारित ‘नबिल जेन एन अकाउन्ट’ सेवाले त्यस्तो रकम बैंकमा आउँछ भन्ने हाम्रो अपेक्षा छ ।

पुरानो बैंक भएको हुनाले धेरै संघ संस्थाका कल अकाउन्ट नबिल बैंकमा छन् । यस्ता खातालाई पुर्ववत अवस्थामा सञ्चालन गराउँदै नयाँ ग्राहकहरुलाई बैंकमा जोड्नका लागि प्रविधिमा आधारित यो योजना प्रभावकारी हुने अपेक्षा हामीले लिएका छौं ।

अहिलेको अवस्थामा बैंकमा पैसा राख्दै गर्दा पाइने ब्याजभन्दा पनि सेवाको प्रभावकारितामा बढी चासो देखिन्छ । त्यसका लागि हामीले डेडिकेटेड ‘टीम’ तथा शाखा बनाएर काम गरेका छौं । यसरी काम गर्दा ग्राहकहरु सन्तुष्ट भएको अवस्था महसुस गरेका छौं । यसले निक्षेप बढाउन समेत सहयोग गरेको छ ।

यो योजनाका ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ मौज्दात राख्नुपर्ने हुन्छ । त्यसैगरी सेवाग्राहीलाई ३ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा, ७५ हजार रुपैयाँ बराबरको जीवन बीमाको समेत व्यवस्था गरिएको छ । हामीले यो योजना अन्तर्गत खोलिएका खाता सक्रिय राख्नका लागि न्युनतम मौज्दात तोकेका हौं । अहिलेको अवस्थामा बैंकहरुमा खोलिएका अधिकाशं खाताहरु निष्क्रिय अवस्थामा छन् । नबिल बैंकको सन्दर्भमा भने यस्तो संख्या न्युन छ ।

ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहेर उनीहरुको चाहना के छ भन्ने विषयलाई पनि उत्तिकै ध्यान दिने अभियानमा हामी जुटेका छौं । आजका मितिसम्म बैंकहरुले आफ्नो तर्फबाट मात्र निक्षेप योजनाहरु ल्याए । तर, ग्राहक के चाहन्छन् भन्ने तर्फ खासै ध्यान नपुगेको देखियो । यो अवस्थामा नबिल बैंकले ‘सर्भे’ गरेर ग्राहकको चाहना अनुसारको निक्षेप योजना ल्याउने तयारी गरीरहेको छ । कानुनी आधार भित्र रहेर काम गरिनेछ । यसका लागि हामीले आन्तरिक रुपमा ‘टीम’ बनाएर आवश्यक गृहकार्य गरिरहेका छौं ।

ग्राहकलाई साधारण बचत खातामा कति पैसा छ भन्ने कुरा सामान्यतया याद हुँदैन । तर, मुद्दती निक्षेपमा राखेको पैसाको पूर्ण जानकारी हुन्छ । मुद्दती निक्षेप भनेको ग्राहकले जीवनभर कमाएर कतै लगानी गर्छु भनेर जुटाएको ‘फण्ड’ हुन्छ । र, मुद्दती निक्षेपमा पैसा राख्नु भनेको पनि एक प्रकारको लगानी हो । नेपालको सन्दर्भमा अहिले मुद्दती निक्षेपमा पैसा राख्दा औषतमा ८ प्रतिशतको हाराहारीमा ब्याज पाइन्छ ।

नबिल बैंकले यो अवस्थामा बजारको औषतभन्दा माथिको व्याज दिने किसिमका निक्षेप योजनाहरु सञ्चालन गरिरहेको छ । सरसर्ती हेर्दा नबिल बैंकले के गर्न खोजेको होला भन्ने भान पर्न सक्छ, तर वास्तविकता फरक छ ।

अहिले नबिल बैंकको कुल निक्षेप करिब २ खर्ब छ । मानौं यो निक्षेपमा ९ प्रतिशतको व्याजदरमा १० अर्ब रुपैयाँ निक्षेप लिँदा औषतमा बैंकको खर्चमा दशमलव पछिको अंकमा मात्र फरक पर्छ । अहिले बैंकको पूँजी, कर्जा तथा निक्षेप अनुपात पनि ७२ देखि ७३ प्रतिशतको हाराहारीमा छ । यसले हामीलाई धेरै ठूलो भार पार्छ जस्तो लाग्दैन ।

आजको दिनमा बैकिङ्ग प्रणालीको समस्याको कुरा गर्दा व्याक्तिगत निक्षेपको आकार कै कुरा अगाडि आउँछ । त्यसका लागि व्यक्तिगत निक्षेप बढाउन एक पटक लगानी गर्ने जमर्को नबिल बैंकले गरेको हो । बैंकले बजारको औषत व्याजदरभन्दा माथिको व्याजदरमा सञ्चालन गरेको निक्षेप योजनाले व्यक्तिगत निक्षेपकर्ताको संख्या बढाउने विश्वास हामीले लिएका छौं । बैंकमा व्यक्तिगत निक्षेपको आकार बढाउनका लागि नै हामीले औषतभन्दा माथिको व्याजदरमा व्याज भुक्तान गरेका हौं । यसलाई हामीले बजारमा छरिएर रहेको व्यक्तिगत निक्षेप जुटाउन लगानी गरेका हौं । त्यसैले पनि बैंकले यसलाई खर्चको रुपमा लिएको छैन ।

अहिले माहामारीको अवस्थामा सर्वसाधारणको आम्दानी पनि बढोस् र लगानीको कुनै योजना नबनिसकेको अवस्थामा बचतको पैसा मुद्दतीमा परिवर्तन होस् भनेर पनि कतिपय मुद्धती योजनाको व्याजदर पनि औषतभन्दा माथि कायम गराएका छौं ।

नेपाली बैंकहरुले ‘मास बैंकिङ्ग’ गरेका छैनन् । ठूलो आकारको निक्षेप त्यही ‘मास’ मा छ । त्यो निक्षेपलाई उठाउने उद्देश्यबाट बैंकिङ क्षेत्रले काम नगरेको देखिन्छ । यसका लागि वित्तीय साक्षरता बढाउन आवश्यक छ । आजको दिनमा हामीले बैंकमा निक्षेप राखेर के फाइदा छ भनेर ‘मास’ लाई बुझाउन सकेका छैनौ । यो विषयमा साक्षरता बढाउन पनि हामीले विभिन्न योजना मार्फत अभियान चलाइरहेका छौं ।

विद्यालयस्तरमा नै बैंकिङ्ग सम्बन्धि जानकारी औपचारिक शिक्षामा समावेश गर्नुपर्ने देखिन्छ । यो भनेको बैंक वा बैंकका कर्मचारीले मात्र सिकाउने भन्ने विषय नभई जानेका सबैले सबैलाई सिकाउने विषय हो । साथै सबै क्षेत्रबाट पहल पनि हुनुपर्छ ।

बचत भएन भने दैनिक खर्चका लागि मुल धन खर्च हुने अवस्था रहन्छ । बचत नगरेकाले मुल धन खर्च गर्नु परेको अवस्थामा व्यक्तिलाई वित्तीय संकट सुरु हुने अवस्था उत्पन्न हुन्छ । घरघरमा बचतको विकास गर्नका लागि वित्तीय साक्षता विस्तार अत्यन्तै जरुरी छ । नबिल बैंकले विभिन्न योजनाबाट यो अभियानलाई अभिप्रेरित गर्दै सेवाग्राहीलाई बैंकिङ्ग प्रणालीमा ल्याउन प्रयत्न गरिरहेको छ ।

(नबिल बैंकका दायित्व व्यवस्थापन एवं सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश ।)

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।