सरकार र केन्द्रीय बैंकले कोरोनाबाट सुतेको अर्थतन्त्र उकास्न भुमिका खेल्नु पर्छ : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको संक्रमणबाट थलिएको अर्थतन्त्र उकास्नका लागि सरकार र केन्द्रिय बैंकले ध्यान दिँदै अघि बढ्नु पर्ने बताएका छन् ।

पोलिसि मेकर्स राउन्टेबल एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) र जी २४ द्वारा आयोेजित संयुक्त भर्चुअल बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । कोभिडबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि जी २४ सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरुले ध्यान केन्द्रित गर्नु पर्ने अधिकारीको भनाई थियो ।

साना तथा मझौला उद्यम व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवद्र्धनका लागि जी सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंक केन्द्रित हुनुपर्ने अधिकारीले बताए । कोरोना संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्स प्रवद्र्धनको अवसरका रूपमा लिइनुपर्नेमा उनको जोड थियो । ‘डिजिटल बैंकिङको प्रवद्र्धनबाट युवा पुस्ताको रोजगारी प्रवद्र्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ’ अधिकारीले छलफलमा भने ।

भर्चुअल कन्फ्रेन्समा स्टेट बैंक अफ पाकिस्तानका गभर्नर डा रेजा बकिरले कोभिड संक्रमणको परिस्थितिमा तरलता सिर्जना, नीतिगत दरको कटौती, पुनरकर्जा सुविधा, नीतिगत सहुलियतका लागि आफ्नो बैंकले अवलम्बन गरेका अभ्यासको अनुभव सुनाएका थिए ।

बैठकमा सहभागीहरूबीच कोभिड १९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।