रेमिट्यान्स आप्रवाह पछिल्लो ५ वर्षकै उच्च, भदौमा मात्र ७३ अर्ब भित्रियो

0
Shares

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात भदौसम्ममा नेपाल भित्रिएको रेमिट्यान्स पछिल्लो पाँच वर्ष उच्च रहेको पाइएको छ । चालु आवको दुई महिना अर्थात भदौ अन्तिमसम्ममा मात्र एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

कोरोना भाइरसका कारण विश्वभरी रोजगार गुम्ने तथा आर्थिक गतिविधि ठप्प रहेको भएपनि नेपाल आउने रेमिट्यान्स झनै बढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको अवस्थामा समेत रेमिट्यान्समा उल्लख्य वृद्धि आएको छ ।

विदेशमा रहेका नेपालीले कोरोना भाइरसको माहामारीका समयमा आर्थिक कारणले स्वदेशमा रहेको परिवारले समस्या भोग्न नपरोस् भनेर धेरै रकम पठाउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको हो ।

पछिल्लो पाँच वर्षमा भदौ महिनासम्ममा आएको रेमिट्यान्स तथ्याङ्कलाई हेर्दा पनि चालु आर्थिक वर्षको नै उच्च हो । भूकम्प आएपछिको आर्थिक वर्ष २०७२/७३ को दोस्रो महिनामासम्ममा पनि १ खर्ब ७ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको दोस्रो महिनासम्ममा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्र ७३ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स आएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष पहिलो महिना अर्थात साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

चालु आर्थिक वर्षको भदौसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।

चालु आवको भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । गत आको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भदौसम्ममा ८६.५ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष महिना रेमिट्यान्स (रु)
२०७७/७८  भदौ १६५.७३ अर्ब
२०७६/७७  भदौ १५३.७३ अर्ब
२०७५/७६ भदौ १५४.२० अर्ब
२०७४/७५  भदौ ११५.५५ अर्ब
२०७३/७४ भदौ ११४.७४ अर्ब
     

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।