उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल सहित प्यानलको उम्मेदवारी दर्ता


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछि पटक पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत असारमा ढकालसहित प्यानलका सबै उपाध्यक्षहरुले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।

अहिलेको जटिल परिस्थिथिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको बताउँदै आफ्नो समूहमात्र अहिलेको समय र परिस्थिति अनुकूल नेतृत्व गर्न सक्ने उनको दाबी थियो ।

उद्योग वाणिज्य महासंघले इमेलबाट माग्यो उम्मेदवारी मनोनयन, निर्वाचन कार्यतालिका यस्तो

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।