विवाद सुल्झिए पछि शिवश्री हाइड्रोपावरको शेयरको ओपनिङ रेञ्ज तोकियो


प्रत्याभुत भएको शेयरको रकम भुक्तानीको विषयलाई लिएर लामो समयसम्म विवादमा रहेको शिवश्री हाइड्रोपावरको साधारण शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नेपाल स्टक एक्सज लिमिटेड (नेप्से) ले शेयर कारोबारका लागि ओपनिङ रेञ्ज तोकिदिएसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो । कात्तिक ५ गते नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शिवश्रीको १ करोड ७४ लाख ६४ हजार कित्ता शेयर सूचीकृत भएको थियो ।

सर्वसाधारणमा शेयर निष्काशन गरेको झण्डै १३ महिना पछि शिवश्रीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले शिवश्रीको शेयरको कारोबार संकेत एसएसएचएल (SSHL) दिएको छ ।

शिवश्रीले २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर सर्वसाधारणलाई बिक्रीका लागि निष्काशन गरेको थियो ।

निष्काशित शेयर मध्ये सर्वसाधारणले ७ लाख २० हजार कित्ता शेयर मात्र माग गरेका थिए । बाँकी शेयर प्रत्याभूतकर्ताले स्वीकार गर्नु पर्ने भनिए पनि आन्तरिक विवादका कारण हुन सकेको थिएन ।

निष्काशन गरिएको शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी कित्ता शेयर बिक्री नभएपछि प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटलले शेयर प्रत्याभुत गर्न मानेका थिएनन् । कम्पनीले बदमासी गरेर सूचना लुकाएको भन्दै दुवै क्यापिटल धितोपत्र बोर्डको शरणमा पुगेका थिए ।

नेप्सेले बुधबार नै शेयर कारोबार हुन सक्ने गरी शिवश्रीको शेयरको आपनिङ रेञ्ज तोकेको थियो । तर स्पेशल प्रि ओपनिङमा कम्पनीको शेयर कारोबार हुन नसके पछि नियमित कारोबारमा किनबेच हुन सकेन । नेप्सेले हाइड्रोपावरको शेयरको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँको रेञ्ज दिएको छ ।

यो रेञ्ज अनुसार अब शिवश्रीको शेयर १०० रुपैंयामा पनि कारोबार हुन सक्छ भने त्यसभन्दा माथि ३०० रुपैंयासम्ममा किनबेच सुरु हुनेछ ।

संस्थागत सुशासनको अभाव देखिएका कारण कम्पनीको शेयर अपेक्षित रुपमा कारोबार हुने अवस्था देखिन्न । यद्यपी ठुलो संख्याको शेयर मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटलसँग रहेका कारण कारोबार कसरी सुरु हुन्छ । भोलिका दिनमा शेयर मूल्य कता पुग्छ भन्न सकिने अवस्था छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।